NIMB Header 2
Prabhu Mahalaxmi

बीमा दाबी मूल्याङ्कनमा अब सर्भेयर छनोट स्वचालित, यस्तो छ नयाँ प्रणाली

United Ajod
  • BFIS News
  • 2026 Oct 01 11:29
बीमा दाबी मूल्याङ्कनमा अब सर्भेयर छनोट स्वचालित, यस्तो छ नयाँ प्रणाली
IME LIFE

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर छनोट तथा खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्राधिकरणले असोज १२ गतेदेखि प्रणालीको प्राविधिक परीक्षण सुरु गरेको हो।

Nepal Life
NIMB

सर्भेयर खटाउने प्रक्रियामा पारदर्शिता र समान अवसर कायम गर्ने उद्देश्यले विकास गरिएको प्रणालीले दाबीको प्रकृति, सर्भेयरको विशेषज्ञता, उपलब्धता, भौगोलिक अवस्थिति, वरिष्ठता र कार्यभारलगायतका आधारमा उपयुक्त सर्भेयर छनोट गर्नेछ।

कसरी हुन्छ सर्भेयर छनोट?

कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि त्यससँग सम्बन्धित विवरणका आधारमा प्रणालीले उपलब्ध सर्भेयरमध्ये उपयुक्त व्यक्ति वा संस्थालाई स्वचालित रूपमा छनोट गर्नेछ। उदाहरणका लागि, सवारी दुर्घटनासम्बन्धी दाबी परेमा त्यस्तो विषयमा विशेषज्ञता भएको, सम्बन्धित स्थानमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता भएको र तत्काल जिम्मेवारी लिन सक्ने सर्भेयरलाई प्रणालीले प्राथमिकतामा राख्नेछ।

यसबाट बीमा कम्पनीका कर्मचारीले प्रत्येक दाबीका लागि म्यानुअल रूपमा सर्भेयर छनोट गर्नुपर्ने प्रक्रियालाई स्वचालित प्रणालीले प्रतिस्थापन गर्नेछ।

प्रणालीमा सर्भेयरको विशेषज्ञता, वरिष्ठता, भौगोलिक क्षेत्र, पोर्टफोलियो तथा विगतमा सम्पन्न गरेका कामको विवरणसहितको प्रोफाइल तयार गरिएको छ। हालसम्म ८८ संस्थागत सर्भेयरसहित कुल ६८० सर्भेयरको विवरण प्रणालीमा प्रविष्ट गरिएको प्राधिकरणले जनाएको छ।

कार्यभारसमेत प्रणालीमा अभिलेख

हालको कानुनी व्यवस्थाअनुसार व्यक्तिगत सर्भेयरले एकपटकमा पाँचवटासम्म र संस्थागत सर्भेयरले १० वटासम्म काम लिन पाउने व्यवस्था छ। विगतमा सर्भेयरले प्राप्त गरेका कामको समग्र तथ्याङ्क व्यवस्थित रूपमा अभिलेख गर्न कठिनाइ रहेको थियो। नयाँ प्रणालीमा भने सर्भेयरको कार्यभार र विगतका कामसम्बन्धी विवरणसमेत राखिनेछ।

प्राधिकरणका अनुसार यसले एउटै सर्भेयरलाई अत्यधिक काम जाने र अन्य सर्भेयरले पर्याप्त अवसर नपाउने अवस्थासम्बन्धी गुनासो सम्बोधन गर्न सहयोग पुग्नेछ। सर्भेयर छनोटका आधार प्रणालीमा अभिलेख हुने भएकाले कुन दाबीका लागि कुन सर्भेयर छनोट भयो भन्ने विवरणसमेत ट्र्याक गर्न सकिनेछ।

आईटी र क्लेम प्रमुखलाई तालिम

प्राधिकरणले असोज १३ गते निर्जीवन बीमा कम्पनीका आईटी प्रमुख तथा क्लेम प्रमुख गरी ३६ जनालाई प्रणाली सञ्चालनसम्बन्धी अनलाइन तालिम दिएको छ। अब सर्भेयरहरूलाई पनि प्रणाली प्रयोगसम्बन्धी तालिम दिने तयारी छ। आगामी चरणमा पुनर्बीमा कम्पनीलाई समेत प्रणालीमा समेट्ने प्राधिकरणको योजना छ।

प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, क्लेम प्रमुख र आईटी प्रमुखलगायत सरोकारवालाबाट सुझाव लिइएको थियो। बीमा कम्पनीहरूले आफ्ना सर्भेयरसम्बन्धी थप विवरणसमेत प्राधिकरणलाई उपलब्ध गराइरहेका छन्।

साइबर सुरक्षा परीक्षणपछि पूर्ण सञ्चालन

प्राधिकरणले प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउनुअघि साइबर सुरक्षासम्बन्धी परीक्षण गरिरहेको जनाएको छ। यस क्रममा फायरवाल परीक्षण तथा भिएपिटी (VAPT) लगायतका सुरक्षा परीक्षण भइरहेका छन्।

प्राधिकरणका अनुसार प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि सर्भेयर छनोटको प्रक्रिया स्वचालित हुनेछ। साथै, छनोटसम्बन्धी निर्णयको अडिट ट्रेल प्रणालीमै रहने भएकाले दाबी मूल्याङ्कन प्रक्रियामा पारदर्शिता र जवाफदेहिता कायम गर्न सहयोग पुग्नेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया