हिमालयन लाइफको कार्यबाहक सीईओमा कवि फुयाँल नियुक्त, मर्जर पछि खस्किएको साख बढाउने अवसर
- BFIS News
- 2026 Oct 12 13:30
तीन जीवन बीमा कम्पनीको मर्जरपछि बनेको हिमालयन लाइफको नेतृत्व सम्हाल्ने जिम्मेवारी, बीमा क्षेत्रमा बटम टु टप यात्रा तय गरेका फुयाँलसामु एकीकृत संगठनलाई बलियो बनाउने चुनौती
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (Acting CEO) मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले फुयाँललाई असोज २६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
कम्पनीको सञ्चालक समितिको बैठक २०८३ असोज १३ गते मंगलबार बसेको थियो। उक्त बैठकको निर्णयअनुसार फुयाँलले असोज २६ गतेदेखि कम्पनीको कार्यकारी नेतृत्व सम्हाल्नेछन्।
जीवन बीमा क्षेत्रमा विभिन्न कम्पनीमा काम गर्दै व्यवस्थापकीय अनुभव हासिल गरेका फुयाँल यसअघि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। त्यसअघि उनले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीसमेत सम्हालिसकेका छन्। ३७ वर्षको उमेरमै सीईओ बनेर जीवन बीमा क्षेत्रमा चर्चा कमाएका फुयाँलको नयाँ जिम्मेवारीलाई हिमालयन लाइफको आगामी व्यावसायिक यात्रासँग जोडेर हेरिएको छ।
बैंकिङदेखि जीवन बीमाको नेतृत्वसम्म
काठमाडौंको गोलढुङ्गामा जन्मिएका फुयाँलको व्यावसायिक यात्रा बैंकिङ क्षेत्रबाट सुरु भएको हो। सानैदेखि चुनौती स्वीकार गर्ने स्वभावका उनी सुरुमा बुबाले सञ्चालन गर्दै आएको ठेक्कापट्टा तथा निर्माण व्यवसायमा जोडिने सोचमा थिए। तर, व्यवस्थापन विषयको अध्ययन र दाइको प्रेरणाले उनको करिअरलाई फरक दिशातर्फ मोडिदियो।
उनले दीपज्योति स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि काठमाडौंको केएमसीबाट व्यवस्थापन संकायमा प्लस टु र बीबीए अध्ययन पूरा गरे। त्यसपछि केएफएबाट स्नातकोत्तर अध्ययन पूरा गरेका उनले बैंक तथा वित्तीय संस्था हुँदै बीमा क्षेत्रमा आफ्नो व्यावसायिक पहिचान स्थापित गरे।
उनको करिअरको औपचारिक सुरुवात सन् २००८ को जनवरीमा लक्ष्मी बैंकबाट भएको थियो। बैंकमा उनले सुरुमा ट्रेनी असिस्टेन्टका रूपमा काम गरे। त्यहाँ उनी एसएमईसम्बन्धी अनुसन्धान गर्ने टोलीमा समेत आबद्ध भएका थिए। बैंकमा काम गरिरहेकै बेला राष्ट्रिय बीमा संस्थानमा उनको नाम निस्किएपछि उनी संस्थानमा प्रवेश गरे।
राष्ट्रिय बीमा संस्थानमा उनले आन्तरिक लेखापरीक्षणसँग सम्बन्धित काम, बैंकहरूको हिसाब मिलान (Reconciliation) तथा लामो समयदेखि थाती रहेका विभिन्न कामको व्यवस्थापनमा भूमिका निर्वाह गरे। विशेषगरी मोटर बीमामा तेस्रो पक्ष बीमा अनिवार्य भएपछि थुप्रिएका कामलाई व्यवस्थित गर्ने क्रममा उनले जिम्मेवारीपूर्वक काम गर्ने अवसर पाए।
सरकारी संस्थामा काम गर्दा उनले संस्थागत कार्यप्रणाली र व्यवस्थापकीय चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाए। करिब डेढ वर्ष संस्थानमा काम गरेपछि उनी निजी क्षेत्रको प्राइम लाइफ इन्स्योरेन्समा प्रवेश गरे। यहीँबाट उनको करिअर बैंकिङ क्षेत्रबाट जीवन बीमा व्यवसायको व्यवस्थापनतर्फ केन्द्रित हुन थाल्यो।
प्राइम लाइफदेखि सेल्स हेडसम्म
प्राइम लाइफमा प्रवेश गरेपछि फुयाँलले अफिसर तहबाट काम सुरु गरे। आफ्नो कार्यसम्पादन र जिम्मेवारीप्रतिको प्रतिबद्धताका कारण उनी डेपुटी म्यानेजरसम्म पुगे। तत्कालीन प्रमुख कार्यकारी अधिकृत रेस्टा झाको नेतृत्वमा उनले विभागीय जिम्मेवारी सम्हाल्नुका साथै बिक्री तथा बजार विस्तारका क्षेत्रमा पनि काम गरे।
उनले वैदेशिक रोजगार बीमा, लघुबीमा, संस्थागत बीमा र बैंकास्योरेन्सजस्ता व्यवसायिक क्षेत्रको नेतृत्व गर्ने अवसर पाए। विशेषगरी लघुबीमाको विस्तारमा उनले नयाँ योजना निर्माण, उत्पादन परीक्षण तथा व्यवसायिक मोडल विकासमा काम गरे।
सन् २००९/१० तिरै सहकारीमार्फत बीमा सेवा विस्तार गर्न सकिने सम्भावनालाई ध्यानमा राखेर उनले विभिन्न योजना तयार पारेका थिए। लघुबीमा व्यवसायको सञ्चालन, बजारीकरण, उत्पादन विकास र दिगोपनाबारे थप ज्ञान हासिल गर्न उनी बंगलादेशको डेल्टा लाइफमा करिब १० दिनको अन द जब ट्रेनिङमा समेत सहभागी भए।
बंगलादेशबाट फर्किएपछि लघुबीमा पोलिसीको प्रारम्भिक विकासमा उनले काम गरे। यद्यपि, आफूले तयार पारेका योजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने अवसर भने उनले पाएनन्। प्राइम लाइफमा करिब तीन वर्ष काम गरेपछि उनी बाहिरिए।
केही समय आफ्नै पहलमा काम गर्ने प्रयास गरे पनि उनी सन् २०७० मा पुनः जीवन बीमा क्षेत्रमै फर्किए। त्यसपछि सूर्य लाइफ इन्स्योरेन्समा आबद्ध भएका उनले वैदेशिक रोजगार बीमा र कर्पोरेट बीमाबाट सुरु गर्दै देशभरको बिक्री विभाग (सेल्स) प्रमुखको जिम्मेवारीसम्म सम्हाले।
सूर्य लाइफमा करिब चार वर्ष काम गरेपछि उनी सिटिजन लाइफ इन्स्योरेन्समा प्रवेश गरे। कम्पनीको प्रारम्भिक चरणदेखि नै उच्च व्यवस्थापनमा रहेर काम गर्ने अवसर पाएका उनले संस्थागत संरचना निर्माण, कर्मचारी नियुक्ति, बिक्री नीति, एजेन्सी च्यानल विस्तार र बजार रणनीति निर्माणमा भूमिका निर्वाह गरे।
सिटिजन लाइफको शाखा सञ्जाल विस्तारदेखि व्यवसायिक संरचना व्यवस्थित बनाउनेसम्मका काममा उनको सक्रिय सहभागिता रह्यो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र शिखर इन्स्योरेन्सका दीपप्रकाश पाण्डेलगायत नेतृत्वसँग काम गर्दै उनले संस्थागत व्यवस्थापन र बजार विस्तारको अनुभव हासिल गरे।
यसरी विभिन्न कम्पनीमा प्राप्त गरेको अनुभवले उनलाई उच्च व्यवस्थापकीय जिम्मेवारीका लागि तयार पार्दै लग्यो।
३७ वर्षमै सीईओ, त्यसपछि नयाँ चुनौतीको खोजी
सिटिजन लाइफमा करिब तीन वर्ष काम गरेपछि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बन्ने अवसर पाए। त्यसबेला उनी ३७ वर्षका थिए। सिटिजन लाइफमा स्थापित भइसकेको व्यावसायिक वातावरण र राम्रो टोली हुँदाहुँदै पनि उनले नयाँ जिम्मेवारी स्वीकार गरे।
उनको करिअरको विशेषता नै नयाँ अवसरलाई उपयोग गर्दै अगाडि बढ्नु र आफूले पाएको जिम्मेवारी पूरा गर्न प्रयासरत रहनु हो। बैंकको सामान्य तहबाट सुरु भएको उनको यात्रा जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतसम्म पुगेको थियो।
आईएमई लाइफमा सीईओका रूपमा काम गरेपछि उनी दोस्रो कार्यकालका लागि समेत नियुक्तिपत्र पाउने अवस्थामा पुगेका थिए। तर, उनले त्यहाँ निरन्तरता दिनुको सट्टा सन नेपाल लाइफ इन्स्योरेन्समा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी स्वीकार गरे।
सन नेपाल लाइफमा निश्चित सोच र योजनासहित प्रवेश गरेका फुयाँलले अपेक्षाअनुसारको कार्यवातावरण नपाएपछि नयाँ अवसरको खोजी गरेको विवरणमा उल्लेख छ। त्यसपछि उनी तीनवटा जीवन बीमा कम्पनी गाभिएर बनेको हिमालयन लाइफमा आबद्ध भए। अहिले सोही कम्पनीको कार्यबाहक सीईओको जिम्मेवारी पाएका छन्।
एकीकृत संगठनलाई बलियो बनाउने चुनौती
हिमालयन लाइफ तीनवटा जीवन बीमा कम्पनीको मर्जरपछि बनेको संस्था हो। मर्जरपछि कम्पनीका कर्मचारी, अभिकर्ता, कार्यप्रणाली र संस्थागत संस्कृतिलाई एकीकृत बनाउनु व्यवस्थापनका लागि महत्त्वपूर्ण चुनौती रहँदै आएको छ।
यस्तो अवस्थामा कार्यबाहक सीईओको जिम्मेवारी पाएका फुयाँलसामु कम्पनीको व्यावसायिक गतिलाई व्यवस्थित बनाउने, कर्मचारी तथा अभिकर्ताबीच समन्वय बढाउने र संस्थागत एकतालाई थप बलियो बनाउने चुनौती हुनेछ।
विशेषगरी फरक पृष्ठभूमिबाट आएका कर्मचारी र अभिकर्ताको संरचनालाई एउटै लक्ष्यमा केन्द्रित गर्दै कम्पनीको व्यवसाय विस्तार गर्नु उनको नेतृत्वको प्रमुख परीक्षा बन्नेछ। त्यसका साथै कम्पनीको विगतको व्यावसायिक यात्रामा देखिएका कमजोरी सुधार गर्दै सञ्चालन प्रणालीलाई प्रभावकारी बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया