बाढी प्रभावित ४ हजार १०८ परिवारलाई ४५ हजार रुपैयाँका दरले राहत वितरण
- BFIS News
- 2026 Oct 15 10:34
काठमाडौं। सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ।
विकास साझेदार संस्था विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बाट उपलब्ध रकम परिचालन गरी सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गरेको हो। राहत वितरणमा दोहोरोपन हुन नदिन र वास्तविक प्रभावित परिवारसम्म सहायता पुर्याउन सम्बन्धित निकायबीच समन्वय गरिएको छ।
स्थानीय तहको समन्वयमा राहतका लागि योग्य परिवार पहिचान गरी सहायता वितरण भइरहेको छ। हालसम्म रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारले नगद सहायता प्राप्त गरेका छन्।
सरकारले तथ्यांक प्रमाणीकरण हुन बाँकी करिब १ हजार ४०० परिवारलाई पनि राहत वितरण गर्ने तयारी गरेको छ। बाँकी लाभग्राहीलाई तीन दिनभित्र नगद सहायता उपलब्ध गराउने लक्ष्य राखिएको छ।
राहत वितरणमा दोहोरोपन रोक्ने तयारी
बाढी प्रभावित तीन जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्ट र केन्द्रीय कमान्ड पोस्टको संयुक्त बैठकले राहत वितरणलाई व्यवस्थित बनाउने निर्णय गरेको थियो। असोज २३ गते बसेको बैठकले विपद् प्रभावित परिवारको पहिचान तथा तथ्यांक प्रमाणीकरणलाई व्यवस्थित गर्दै प्रारम्भिक पुनर्लाभका कामलाई तीव्रता दिने निर्णय गरेको हो।
रेडक्रससहित अन्य विकास साझेदार संस्थाले पनि नगद सहायता उपलब्ध गराउन चासो देखाएपछि सरकारले स्थानीय तह र सम्बन्धित निकायलाई ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार राहत वितरण गर्न निर्देशन दिएको छ।
एकद्वार प्रणालीबाट राहत वितरण गर्दा एउटै परिवारले दोहोरो सहायता पाउने अवस्था रोक्नुका साथै राहत पाउन योग्य कुनै पनि प्रभावित परिवार छुट्न नदिने सरकारको उद्देश्य छ।
दीर्घकालीन पुनःस्थापनामा जोड
सरकारले बाढी प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापना तथा व्यवस्थापनका लागि पनि काम अघि बढाएको छ। प्रभावित क्षेत्रका बासिन्दाको जीविकोपार्जन पुनःस्थापना, आधारभूत पूर्वाधारको पुनर्निर्माण र समुदायको दिगो पुनर्लाभ सुनिश्चित गर्न आवश्यक प्रयास भइरहेको छ।
नगद राहत वितरणसँगै प्रभावित परिवारलाई सामान्य जनजीवनमा फर्काउन तथा क्षतिग्रस्त पूर्वाधार र जीविकोपार्जनका आधार पुनःस्थापित गर्न दीर्घकालीन योजनामा जोड दिइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया