नेपाल टेलिकमको पोस्टल सिम सेवा सुरु, घरमै बसेर सिमकार्ड लिन सकिने
- BFIS News
- 2026 Oct 15 10:38
काठमाडौं। नेपाल टेलिकमले अनलाइनबाट आवेदन दिएर हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सकिने ‘पोस्टल सिम सेवा’ सुरु गरेको छ। यस सेवाबाट ग्राहकले नेपाल टेलिकमको कार्यालयमा पुग्नुपर्ने बाध्यता हट्नेछ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बुधबार आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गरेका हुन्। सरकारले सार्वजनिक सेवालाई डिजिटल, सहज र नागरिकमैत्री बनाउने उद्देश्यसहित अघि बढाएको पहलअन्तर्गत यो सेवा सुरु गरिएको हो।
सेवा प्रयोग गर्न ग्राहकले नेपाल टेलिकमको वेबसाइट esim.ntc.net.np मा गई पोस्टल सिम पोर्टलमार्फत आफ्नो व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्नेछ। त्यसपछि परिचय प्रमाणीकरणका लागि आफूलाई पायक पर्ने नेपाल टेलिकमको काउन्टर छनोट गर्न सकिनेछ।
आवेदनको विवरण प्रमाणीकरण गरी स्वीकृत भएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था छ। सिमकार्डको मूल्य ९० रुपैयाँ तोकिएको छ भने हुलाकमार्फत घरसम्म पुर्याउन थप ७० रुपैयाँ शुल्क लाग्नेछ। ग्राहकले मोबाइल बैंकिङ, डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सक्नेछन्।
सहरी क्षेत्रमा दुई घण्टाभित्रै सिमकार्ड
नेपाल टेलिकमका अनुसार आवेदन स्वीकृत भई भुक्तानी पूरा भएपछि सहरी क्षेत्रमा करिब दुई घण्टाभित्र सिमकार्ड उपलब्ध गराउने लक्ष्य राखिएको छ। ग्रामीण क्षेत्रमा भने सिमकार्ड पुर्याउन तीन दिनसम्म लाग्न सक्नेछ। ग्राहकले सिमकार्डको डेलिभरी अवस्थासमेत अनलाइनबाटै ट्र्याक गर्न सक्नेछन्।
सेवा शुभारम्भका क्रममा मन्त्री तिमिल्सिनाले आफैँ अनलाइनबाट सिमकार्डका लागि आवेदन दिएका थिए। आवश्यक विवरण प्रमाणीकरण र भुक्तानी पूरा गरेपछि करिब ३० मिनेटमै मन्त्रालयमा सिमकार्ड प्राप्त गरेका थिए।
उनले नागरिकलाई घरदैलोमै सार्वजनिक सेवा उपलब्ध गराउँदा समय र खर्च दुवै बचत हुने बताए। उनले हुलाक सेवालाई आधुनिक सार्वजनिक क्षेत्रको कुरियर प्रणालीका रूपमा विकास गर्ने सरकारको प्रतिबद्धता पनि दोहोर्याए।
मन्त्री तिमिल्सिनाले तोकिएको समयभन्दा पनि छिटो सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। साथै, नेपाल टेलिकमका पोस्टपेड सिमकार्ड वितरणलगायत अन्य प्रशासनिक तथा दूरसञ्चार सेवासमेत अनलाइन माध्यमबाट उपलब्ध गराउने व्यवस्था विस्तार गर्न आग्रह गरेका छन्।
हुलाक सेवालाई आधुनिक बनाउने लक्ष्य
सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले पोस्टल सिम सेवालाई सिमकार्ड वितरणको विद्यमान प्रणालीमा आएको महत्त्वपूर्ण परिवर्तनका रूपमा व्याख्या गरे। उनले सेवा प्रभावकारी र दीर्घकालीन रूपमा दिगो बनाउन कर्मचारीको क्षमता विकास तथा आवश्यक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पाँगेनीले संयुक्त रूपमा मन्त्री तिमिल्सिनालाई सिमकार्ड हस्तान्तरण गरेका थिए।
नयाँ सेवाले सिमकार्ड प्राप्त गर्न लाग्ने समय र झन्झट घटाउनुका साथै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया