Siddartha Bank
Prabhu Mahalaxmi

राष्ट्र बैंकको फिन्टेक नवप्रवर्तन प्रदर्शनी सम्पन्न, २७ संस्थाका सेवा प्रदर्शनीमा

United Ajod
  • BFIS News
  • 2026 Nov 02 21:18
राष्ट्र बैंकको फिन्टेक नवप्रवर्तन प्रदर्शनी सम्पन्न, २७ संस्थाका सेवा प्रदर्शनीमा
Sanima Reliance Life Insurance Company

काठमाडौं । डिजिटल वित्तीय सेवाको विस्तार, प्रविधिमा आधारित वित्तीय नवप्रवर्तनको प्रवर्द्धन तथा फिन्टेक क्षेत्रमा विकसित नयाँ प्रविधिको प्रदर्शन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘NRB Fintech Innovation Showcase Event 2026’ सम्पन्न भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

Nepal Life
NIMB

कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन राष्ट्र बैंकको प्राथमिकतामा रहेको बताए । नवप्रवर्तनमा आधारित नियामकीय तथा सुपरिवेक्षकीय प्रणाली विकासका लागि राष्ट्र बैंकले काम गरिरहेको उनको भनाइ थियो ।

फिन्टेकको विस्तारसँगै वित्तीय क्षेत्रमा नयाँ अवसर र चुनौती दुवै थपिएको उल्लेख गर्दै गभर्नर पौडेलले यसको व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको बताए । उनका अनुसार एकातर्फ वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी प्रणाली र ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेछ भने अर्कोतर्फ वित्तीय प्रविधिसँगै विकसित हुने नयाँ जोखिम तथा चुनौतीलाई सम्बोधन गर्नुपर्नेछ ।

उनले फिन्टेक नवप्रवर्तनको विकास र विस्तारका लागि सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र वित्तीय क्षेत्रमा क्रियाशील अन्य संस्थाबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले फिन्टेक प्रवर्द्धनका लागि राष्ट्र बैंकले गरेका नीतिगत तथा संरचनागत प्रयासबारे जानकारी गराएका थिए । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका लागि राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्थाबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा डेपुटी गभर्नर दीर्घबहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकायका प्रतिनिधि, भुक्तानी प्रणाली सञ्चालक तथा फिन्टेक कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था र फिन्टेक कम्पनीका २७ वटा स्टल राखिएका थिए । ती स्टलमार्फत डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी तथा जोखिम व्यवस्थापन र प्रविधिमा आधारित नियमन (रेगटेक) सम्बन्धी नवप्रवर्तन प्रदर्शन गरिएको थियो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, फिन्टेक कम्पनीलगायत विभिन्न संस्थाका एक हजारभन्दा बढी प्रतिनिधिले प्रदर्शनीको अवलोकन गरेका थिए ।

यसै अवसरमा ‘Digital Lending and Credit for Underserved’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो । फिन्टेक अलायन्स नेपालका मनोज घिमिरेले सहजीकरण गरेको छलफलमा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र फिन्टेक अलायन्स नेपालका अध्यक्ष अमित अग्रवाल सहभागी थिए ।

फिन्टेक रणनीति कार्यान्वयनसँग जोडियो प्रदर्शनी

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘Fintech Strategy for Digital Financial Services (2026/27–2030/31)’ ले फिन्टेक इकोसिस्टममा आबद्ध नवप्रवर्तक तथा सरोकारवालाबीच समन्वय र सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ । सोही रणनीतिको कार्यान्वयनका क्रममा राष्ट्र बैंकले डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र (Digital Finance Innovation Hub–DiFi-Hub) र नियामकीय परीक्षण संरचना (Regulatory Sandbox) लाई प्रभावकारी बनाउने उद्देश्यले ‘NRB Fintech Nexus’ संयन्त्रसमेत तयार गरेको छ ।

यसै संयन्त्रअन्तर्गत फिन्टेक नवप्रवर्तन प्रदर्शनी आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ । आगामी दिनमा फिन्टेक कार्यशाला, ह्याकाथन र नवप्रवर्तन चुनौती (Innovation Challenges) लगायतका कार्यक्रम सञ्चालन गर्ने पनि राष्ट्र बैंकको योजना छ ।

यस कार्यक्रमले वित्तीय क्षेत्रमा विकसित भइरहेका प्रविधि, सेवा तथा नवप्रवर्तनलाई एकै ठाउँमा प्रस्तुत गर्दै डिजिटल वित्तीय सेवाको विकासमा सरोकारवालाबीच सहकार्य विस्तार गर्ने अवसर प्रदान गरेको छ ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया