Nepal Life

नाफासँगै घट्यो एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी

NMB Bank
  • BFIS News
  • 2025 Apr 20 07:36
नाफासँगै घट्यो एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी
United Ajod

काठमाडौं वैशाख ७ – एनआईसी एशिया बैंक लिमिटेड (NICA) को नाफा र प्रतिशेयर आम्दानी (EPS) दुबैमा उल्लेखनीय गिरावट देखिएको छ। बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा नाफा अघिल्लो वर्षको तुलनामा झन्डै ९२ प्रतिशतले घटेको देखिएको हो।

Shikhar
Nepal Life
NIMB

बैंकले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफाको तुलनामा ९१.८१ प्रतिशत कम हो।

नाफामा आएको गिरावटको मुख्य कारण बैंकको ब्याज आम्दानी घट्नु र इम्पेरमेन्ट चार्जको भार बढ्नु हो। समीक्षावधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेको छ भने फि तथा कमिशनबाट प्राप्त आम्दानी ४०.६६ प्रतिशतले घटेको छ। साथै, कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत र सञ्चालन मुनाफा ६४.४० प्रतिशतले कमी आएको छ।

इम्पेरमेन्ट चार्जको भार भने झन् उल्लेखनीय रूपमा बढेको छ। गत वर्षको सोही अवधिमा २ अर्ब १४ करोड रुपैयाँ रहेको चार्ज चालु वर्षको तेस्रो त्रैमाससम्ममा बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि भारी गिरावट आएको छ। अघिल्लो वर्षको सोही अवधिमा १५ रुपैयाँ ८९ पैसा रहेको EPS घटेर चालु समीक्षावधिमा १ रुपैयाँ ४० पैसामा झरेको छ। यस्तै, चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ऋणात्मक ३ अर्ब ५६ करोड रुपैयाँ रहेको देखिन्छ।

सोही अवधिमा बैंकको मूल्य-आम्दानी अनुपात (P/E ratio) २६६.६४ गुणा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसामा कायम छ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया