हिमालयन बैंकको नाफामा ७४% भन्दा बढी गिरावट, इपीएसमा समेत उल्लेखनीय प्रभाव
- BFIS News
- 2025 Apr Sun 09:49

काठमाडौं । हिमालयन बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा ७४.३३ प्रतिशतले घट्दै ५० करोड रुपैयाँमा सीमित भएको छ।
अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब ९४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको कुल ब्याज आम्दानी पनि घटेको छ। समीक्षावधिमा बैंकले ७ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.०८ प्रतिशत कम हो। अघिल्लो वर्ष सोही अवधिमा यो आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ थियो।
यद्यपि, बैंकको सञ्चालन नाफामा भने सुधार देखिएको छ। यो ८.३१ प्रतिशतले वृद्धि भई ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। तर, खराब कर्जा दरमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो वर्षको ४.९६ प्रतिशतबाट बढेर यस वर्ष ७.६८ प्रतिशत पुगेको छ।
बैंकको वितरणयोग्य नाफा समेत ७ अर्ब ३६ करोड रुपैयाँले ऋणात्मक देखिएको छ, जसले आगामी लाभांश वितरण क्षमतामा असर पार्न सक्छ।
हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २२ अर्ब ८३ करोड रुपैयाँ जम्मा भएको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ११ रुपैयाँ ९९ पैसाबाट घटेर ३ रुपैयाँ ०८ पैसामा झरेको छ। प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ४४ पैसा कायम छ।
बैंकले नाफामा आएको गिरावटको कारण खराब कर्जामा आएको वृद्धि र ब्याज आम्दानीमा आएको कमी रहेको जनाएको छ।
प्रतिक्रिया