ट्रेड टावर लिमिटेडको आईपीओ आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला
- BFIS News
- 2025 Apr Mon 14:52

काठमाडौं। ट्रेड टावर लिमिटेडले आज वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ।
यो निष्कासन वैशाख २२ गतेसम्म खुला रहनेछ। कम्पनीले समयपूर्व बन्द गर्ने मिति अर्थात् वैशाख २२ पछि उक्त निष्कासन अवधि थप नगर्ने स्पष्ट पारेको छ।
कम्पनीको जारी पूँजी ८१ करोड ५६ लाख रुपैयाँ रहेको छ। कुल पूँजीको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर (३९ करोड ७१ लाख रुपैयाँ बराबर) सर्वसाधारणका लागि निष्कासन गरिनेछ। यसै सेयर निष्कासनमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो, जुन आजदेखि खुला गरिएको हो।
उक्त आईपीओ निष्कासनको व्यवस्थापक कम्पनी एलएस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
ट्रेड टावर लिमिटेडलाई क्रेडिट रेटिङ एजेन्सी आइसीीआरए नेपालले [ICRANP-IR] BB- को इश्युअर रेटिङ पुनः पुष्टि गरेको छ। यस रेटिङले कम्पनीमा वित्तीय दायित्व पूरा गर्न मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
वि.सं. २०६४ मा स्थापना भएको र काठमाडौंको थापाथलीमा रहेको ट्रेड टावर लिमिटेड एक सार्वजनिक लिमिटेड कम्पनी हो। कम्पनी लिजिङ, फाइनान्सिङ, र पूर्वाधार विकासमा संलग्न छ। कम्पनीको पहिलो आयोजना ‘ट्रेड टावर थापाथली’ वि.सं. २०६८ सालको वैशाखदेखि सञ्चालनमा आएको हो।
हालै कम्पनीले गौशालामा अवस्थित 'होटल क्रिस्टल पशुपति' नामक तीनतारे होटल आंशिक रूपमा सञ्चालनमा ल्याएको छ। यो होटल ९० मध्ये ४९ कोठा र दुईवटा सम्मेलन हलसहित २०८१ सालको चैत महिनाबाट आंशिक रूपमा सेवा सञ्चालनमा आएको हो। २०८१ सालको असोज मसान्तसम्म कम्पनीमा ३५० भन्दा बढी प्रवर्द्धक साझेदारहरू रहेका छन्। आईपीओपछि प्रवर्द्धकहरूको सेयर स्वामित्व झरेर करिब ५१ प्रतिशतमा सीमित हुने कम्पनीको योजना छ।
कम्पनीका अध्यक्ष तथा प्रमुख सेयरधनी श्री शिवहरी दंगाल रहेका छन्।
प्रतिक्रिया