खर्च घटाउन धमाधम दूतावास बन्द गर्दै अमेरिका
- BFIS News
- 2025 Apr Wed 11:18

काठमाडौं । विश्वको महाशक्ति राष्ट्र अमेरिकाले खर्च कटौती भन्दै विश्वका १० मुलुकमा रहेका दूतावास र १७ वटा वाणिज्य दूतावासहरु बन्द गर्न लागेको छ । त्यसैगरी अन्य नियोगमा रहेका कर्मचारीको संख्या घटाइने भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अघि सारिएको खर्च कटौतीका धेरै प्रस्तावमध्ये नियोगको संख्या र कर्मचारीको दरबन्दी कम गर्ने पनि एक हो । न्युयोर्क टाइम्सका अनुसार संघीय खर्च घटाउने र विदेश मन्त्रालयको खर्चको लगभग ५० प्रतिशत कटौती गर्ने योजना बनाइएको छ ।
अमेरिकाको पछिल्लो निर्णयले पनि व्यापार युद्धमा झैँ चीनलाई नै सहयोग पुग्ने पश्चिमा मुलुकका कूटनीतिज्ञहरुको बुझाइ छ । अब अमेरिकाको भन्दा विश्वमा चीनका कूटनीतिक नियोगको संख्या र क्षेत्र फराकिलो बन्ने छ । यसबाट अमेरिकाको गुप्तचर सेवामा समेत असर पुग्ने विश्लेषण छ ।
अमेरिकाले अफ्रिकी महादेशका छ वटा मुलुकबाट राजदूतावास हटाउँदै छ । जसमा मध्य अफ्रिकी गणतन्त्र, इरिट्रिया, गाम्बिया, लेसोथो, कंगो गणतन्त्र र दक्षिण सुडान हुन् । ती मुलुकलाई नजिकैका अन्य मुलुकमा रहेका अमेरिकी दूतावासले हेर्नेछन् । युरोपमा लक्जमबर्ग र माल्टका साथै ग्रेनाडा र माल्दिभ्सका कूटनीतिक नियोगहरू बन्द गरिँदै छ ।
वाणिज्य दूतावासहरूमध्ये अधिकांश युरोपेली देशमा रहेका बन्द गर्ने सूचीमा परेका छन् । तीमध्ये पाँच वटा वाणिज्य दूतावास फ्रान्समा बन्द गरिँदै छ । बोर्डो, लियोन, मार्सेली, रेनेस र स्ट्रासबर्गका अमेरिकी नियोग बन्द गर्न लागिएको हो । जर्मनीको डसेलडोर्फ र लाइपजिगमसँगै मोस्टार र बान्जा लुका, बोस्निया र हर्जगोभिनाका अमेरिकी वाणिज्य दूतावास बन्द हुँदै छन् ।
ग्रीसको एउटा वाणिज्य दूतावाससँगै इटालीको फ्लोरेन्स, पोर्चुगोलको पोन्टा डेलगाडालगायत छन् । अफ्रिकाबाट क्यामरुनको डुआला, इन्डोनेसियाबाट एउटा, दक्षिण अफ्रिकाको डरबान, दक्षिण कोरियाको बुसान पनि हटाउने सूचीमा समेटिएको बताइन्छ ।
साेमालियाको मोगादिसुस्थित अमेरिकी दूतावासको साइज घटाईंदै छ । त्यस्तै इराकको बगदाद र एर्बिललगायत अन्य कूटनीतिक निकायको खर्च घटाउँदै बगदादस्थित कूटनीतिक सहयोग केन्द्र बन्द गर्ने योजना बनाइएको छ ।
प्रतिक्रिया