फर्स्ट माइक्रोफाइनान्सको मुनाफा ७ करोड ६ लाख, प्रतिशेयर आम्दानी ७ रुपैयाँ
- BFIS News
- 2025 Apr Wed 11:19

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार, लघुवित्तको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्यरूपमा घटेको छ।
चैत मसान्तसम्ममा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा कमाइएको १३ करोड २ लाख रुपैयाँको तुलनामा ४५.७७ प्रतिशतले कम हो।
नाफा घट्नुको प्रमुख कारण लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबैमा आएको गिरावट हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.९४ प्रतिशतले घटेर आएको छ भने खुद फि तथा कमिशन आम्दानी ८०.४७ प्रतिशतले घटेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ४०.५९ प्रतिशतले र सञ्चालन मुनाफा ४५.९४ प्रतिशतले घटेको छ।
नाफा घटेसँगै प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। यस अवधिमा लघुवित्तको EPS ७ रुपैयाँ ८ पैसाले घटेर ७ रुपैयाँमा सीमित भएको छ। कम्पनीको चैत मसान्तसम्मको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) १०८.६७ गुणा रहेको छ।
तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८ पैसा रहेको छ।
१ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ। हालसम्म लघुवित्तले ५ अर्ब ४० करोड ९४ लाख रुपैयाँ सापटी उठाएर ६ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरिसकेको छ। अर्थतन्त्रमा चुनौतीपूर्ण परिवेश र आम्दानी घट्न थालेपछि लघुवित्तको मुनाफामा यस्तो गिरावट देखिएको छ।
प्रतिक्रिया