नवनियुक्त गभर्नरले प्रधानन्यायाधीश राउतबाट लिए सपथ ग्रहण
- BFIS News
- 2025 May Wed 11:42

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सपथ ग्रहण गरेका छन् । पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेका हुन ।
पौडेल केन्द्रीय बैंकको १८ औं गभर्नरको रुपमा नियुक्त भएका हुन । मंगलबार मन्त्रिपरिषद् बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको हो । केन्द्रीय बैंकमा गभर्नर पद रिक्त भएको डेढ महिनापछि नयाँ गभर्नर नियुक्त गरिएको हो । सत्ताका प्रमुख घटक नेपाली काँग्रेस र एमालेबीच ठूलो रस्साकस्सी पछि गभर्नर नियुक्त भएका हुन ।
शिक्षा, अनुभव र योगदान
चितवनको रत्ननगर, शान्ति चोकमा २०३२ सालमा जन्मिएका पौडेलले बाल्यकाल र स्कूली शिक्षा चितवनकै टाँडीस्थित नेपाल माध्यमिक विद्यालयबाट पूरा गरेका थिए। गणितमा शतप्रतिशत अंक ल्याएर देशका उत्कृष्ट विद्यार्थीमध्ये एक बनेका उनले अमृत साइन्स क्याम्पस (अस्कल) बाट आइएससी र त्रिभुवन विश्वविद्यालयबाट बीएससी गरेका थिए। जिआरई परीक्षामा अंग्रेजी र गणित दुवैमा पूर्णांक (८००/८००) ल्याएका उनी सन् १९९४ मा चीन गइ इञ्जिनियरिङ अध्ययनपछि अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कृषि तथा प्राकृतिक स्रोत अर्थशास्त्रमा पीएचडी गरेका हुन्।
शिक्षा समाप्त भएपछि उनले काठमाडौं विश्वविद्यालयमा प्राध्यापन थाले। २०७२ को भूकम्पपछि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), नेपाल उद्योग परिसंघ (सिएनआई), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायत संस्थामा आर्थिक सल्लाहकारको रूपमा काम गरेका छन्। साथै, नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष, सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडका सञ्चालक समिति सदस्य, र युलेन्स स्कुलका अभिभावक प्रतिनिधिका रूपमा पनि उनी सक्रिय थिए।
२०७८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले नेपाली कांग्रेसबाट चितवन–१ मा उम्मेदवारी दिएका थिए।
हाल उनी काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन्। पौडेल विगत दुई वर्षदेखि नेपालको आर्थिक इतिहास समेटिएको ९०० पृष्ठको पुस्तक लेखिरहेका छन्, जुन चाँडै प्रकाशन हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया