Nepal Life

गभर्नरको अभिव्यक्तिले सेयर बजारमा सकारात्मक प्रभाव, बैंकिङ समूहमा वृद्धि

RBB
  • BFIS News
  • 2025 May Thu 15:17
गभर्नरको अभिव्यक्तिले सेयर बजारमा सकारात्मक प्रभाव, बैंकिङ समूहमा वृद्धि
Shikhar detail

काठमाडौं, ८ जेठ। नवनियुक्त गभर्नरको अभिव्यक्तिपछि सेयर बजारमा बिहीबार सकारात्मक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १९.४० अंकले उक्लिँदै २६८८.९१ विन्दुमा पुगेको छ। कारोबार रकम ९ अर्ब ८२ करोड रुपैयाँ नाघेको छ।

NIMB

बिहीबार वाणिज्य बैंक समूहको सूचक सबैभन्दा धेरैले वृद्धि भएको छ। सो दिन एक कम्पनीमा सकारात्मक सर्किट लाग्दा अर्को कम्पनीमा नकारात्मक सर्किट लागेको छ।

यसअघि बुधबारको अन्तिम कारोबार अवधिमा नेप्सेमा घटबढ देखिए पनि बिहीबार बजार पुनः सुधार भएको हो।

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पूँजी बजार सुधारका लागि उपयुक्त नीति ल्याइने अभिव्यक्ति दिएपछि लगानीकर्तामा सकारात्मक सन्देश पुगेको हो। उनले बुधबार एक टेलिभिजन अन्तर्वार्तामा बैंक तथा वित्तीय संस्थाको व्यवसाय विस्तारमा सहजीकरण गर्ने र सेयर बजार सुधारमा आवश्यक नीतिगत व्यवस्था गरिने बताएका थिए।

बजार विश्लेषकहरूका अनुसार गभर्नरको उक्त सार्वजनिक धारणा लगानीकर्ताका लागि आशाजनक संकेत बनेको छ। पछिल्लो समय पूँजी बजारसँग आबद्ध ठूलो जनसंख्या समस्यामा परेका कारण गभर्नरको प्रतिबद्धताले बजारमा मनोबल वृद्धि गराएको विश्लेषण गरिएको छ।

हाल बजार लामो समयदेखि साइडवेज (स्थिर अवस्था) मा रहेको भन्दै उपयुक्त नीतिगत सुधारका संकेतहरू बजारलाई उकास्न मद्दत गर्ने अपेक्षा गरिएको छ। सरकारले बजेट ल्याउने तयारी गरिरहेकाले त्यसमा पनि पूँजी बजारका मुद्दाहरू सम्बोधन हुने आशा गरिएको छ। साथै, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा नजिकिँदै गर्दा लगानीकर्ता थप उत्साहित देखिएका छन्।

यद्यपि, तेस्रो त्रैमासिक समीक्षामा ठूला नीतिगत परिवर्तनको सम्भावना कम हुने परम्परा रहिआएको छ। तर नयाँ गभर्नर नियुक्त भएका कारण यसपटक समीक्षालाई विशेष चासोका साथ हेरिएको छ।

बजार लामो समयदेखि थला परेको अवस्थामा रहेको हुँदा यसको सुधारका लागि केही समय लाग्ने विज्ञहरूको भनाइ छ। यदि नीतिगत रूपमा सुधारका उपायहरू अपनाइएमा लगानीकर्ताको मनोबल बढ्नसक्ने र त्यसले बजारलाई पुनः गतिशील बनाउने सम्भावना रहेको विश्लेषण गरिएको छ।

पूर्वमा ३२ सय अंकसम्म पुगेको नेप्से पछिल्लो समय केन्द्रीय बैंकका कडा नीतिहरू जस्तै सेयर कर्जामा १५ करोडको सीमा, जोखिमभारको वृद्धि, बैंक–वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबारमा रोक लगाउने जस्ता कारणले प्रभावित हुँदै आएको थियो।

वर्तमान अवस्थामा बैंकिङ प्रणालीमा अधिक तरलता र घट्दो ब्याजदर रहेको सन्दर्भमा केन्द्रीय बैंकको लचक नीतिले बजारलाई सहज बनाउन सक्ने विश्लेषण गरिएको छ।

हाल नेपालमा सेयर बजारको प्रत्यक्ष नियामक संस्था नभए पनि मौद्रिक नीतिको प्रभाव बजारमा गहिरो देखिन्छ। मौजुदा नीतिअनुसार एक व्यक्तिले १५ करोडभन्दा बढी सेयर कर्जा लिन नपाउने, बैंक–वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबारमा प्रतिबन्ध लगाइएको, जोखिमभार वृद्धि गरिएकोजस्ता व्यवस्थाले बजारमा नकारात्मक असर परेको बताइन्छ।

बजार सुधारका लागि नयाँ लगानीकर्ताको प्रवेश, संस्थागत लगानीकर्ताको क्रय क्षमता वृद्धि र नीति खुकुलो पार्नुपर्ने आवश्यकतामा पनि जोड दिइएको छ।

बिहीबारको कारोबारमा ३१४ कम्पनीका २ करोड २३ लाख कित्ता भन्दा बढी सेयर किनबेच भएका छन्। कारोबार रकममा ६९ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ। राधी हाइड्रोपावर दोस्रो र कुमारी बैंक तेस्रो स्थानमा छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया