अजिङ्गर बन्दै शेयर बजार: गभर्नरको अस्त्रले काम गरेन, शेयर धितोकर्जाको सिमा नहटाएसम्म बजारले रियाक्ट गर्दैन!
- BFIS News
- 2025 May 26 15:25
काठमाडौं। नव नियुक्त गभर्नर विश्वनाथ पौडेलको शेयर बजार बढाउने पहिलो अस्त्रले काम नगर्दा सोमबार नेप्से सूचक झन् घटेको छ। कारोबार खुल्ने वित्तीकै बजारमा आक्रामक सुधार देखिए पनि उक्त सुधार केहि समय पनि टिक्न सकेन।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको त्यो नीति जसको असर आजका दिनमा पनि यथावत छ। शेयर बजार आक्रामक रुपमा सुधार भइरहदा गभर्नर महाप्रसाद अधिकारीले शेयर धितोकर्जामा ४/१२ करोडको सिमा लगाइदिए। अझै पनि यो नीति यथावत छ। अधिकारीले ४/१२ को सिमालाई बढाएर १५/२० करोड पुर्याए पनि लगानीकर्ताहरु यस सिमालाई पुर्ण रुपमा हटाउनु पर्ने पक्षमा छन्।
गभर्नर पौडेलले पहिलो त्रैमाशिक अवधिमा यो नीतिगत व्यवस्थालाई परिमार्जन गर्छन् भन्ने अपेक्षा गरिएको थियो। तर उनले शेयरधितोकर्जाको सिमालाई यथावत राखेर शेयर धितोकर्जाको जोखिमभारलाई घटाएर १०० मा झारिदिएका छन्। यस नीतिले आज शेयर बजारमा उछाल आउने अपेक्षा गरिएको थियो। तर पुर्ण रुपमा डिप्रेस शेयर बजारमा उक्त नीतिले काम गरेन। वास्तवमा अहिले जति पनि ठुला लगानीकर्ताहरु छन् उनिहरुले सिमा बराबरको कर्जा लिइसकेका छन्। यसले गर्दा ठुला लगानीकर्ताले बजारमा थप कर्जा लिन सक्ने अवस्था छैन। यसले गर्दा शेयर धितोकर्जाको सिमा पुर्ण रुपमा हटानु पर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउछन्।
शेयर बजार लगातार तल झर्दा लगानीकर्ताहरु सँगको तरलता सकिसकेको छ। पछिल्ला दिनमा समग्र बजार सुधार हुनुको सट्टा निश्चित शेयरमा मात्रै उतारचढाव हुँदै आएको छ। यसो गर्दा निश्चित कम्पनीको शेयर मूल्य मात्रै बढ्ने वा घट्ने गरेको छ। तर समग्र बजार डिप्रेस हुँदा बाँकी शेयरको भ्यालु दिन प्रतिदिन तल्लो विन्दुमा झर्दै आएको छ। यसले गर्दा लगानीकर्ताको पोर्टफेलियो विगतको भन्दा धेरै तल झरिसकेको छ। एक वर्ष अगाडी नेप्से सूचक ३ हजार हुँदाको भन्दा अहिले सोहि पोर्टफेलियो झण्डै ७०/८० प्रतिशतले डाउन भइसकेको छ।
यस अवधिमा मै हुँ भन्ने लगानीकर्ताको पोर्टफेलियो लसमा छ। दिपेन्द्र अग्रवाल जस्ता खेलाडीको पोर्टफेलियो घाटामा छ। अर्को तर्फ निश्चित कम्पनीको शेयर बढाउने अनि बिक्री गरेर बाहिरिने जमात पनि कम छैन। विचको अवधिमा केहि जलविद्युत कम्पनीका ठुला लगानीकर्ताले बढ्दो मूल्यमा शेयर बिक्री गरेर बाहिरिएका छन्। उनिहरुले बजारबाट ठुलो रकम लैजादा सक्रिय लगानीकर्ताको पोर्टफेलियो लसमा गएको हो। यस्तो अवस्थामा शेयर बिक्री गर्दा घाटा हुन्छ नबेच्दा अरु शेयर थप्ने पैसा छैन। यसले गर्दा बजारले गति लिन सकेको छैन। एक विश्लेषकले भने अहिले बजार 'अजिंगर' बन्दै गइरहेको छ। बजारमा जति पैसा खन्याउदा पनि बढ्ने अवस्था छैन।
अलिकति बढ्ने वित्तीकै सेलिङ प्रेसर आउछ। ठुलो नोक्सानी बेहोर्नु भन्दा अलि अलि भएको नाफा पनि बुक गर्ने प्रबृत्तीले पनि बजारमा काम गर्न सकेको छैन।
शेयरधितो कर्जाको सीमा हटाउन सुझाव
नेपाल इन्भेष्टर फोमरका अध्यक्ष ढकालले शेयरधितो कर्जामा लगाइएको १५ करोडको सीमा हटाउन माग गरेका छन्। उनका अनुसार बैंक तथा वित्तीय संस्थामा प्रशस्त पैसा भएको अवस्थामा ती संस्थालाई कोर क्यापिटलको निश्चित प्रतिशतसम्म शेयर खरिद–बिक्री गर्न दिने नीति ल्याउनु पर्नेछ। “यसो गरेमा राष्ट्र बैंकले बजारबाट पैसा खिचिरहन आवश्यक पर्दैन। संस्थागत लगानीकर्ताको आत्मविश्वास पनि बढ्छ र पूँजी बजारले पुनः लय समात्न थाल्छ,” उनले स्पष्ट पारे।
अर्थतन्त्रमा सकारात्मक असर
ढकालले पूँजी बजारले लय समात्नासाथ साना उद्योगी व्यवसायी पनि चलायमान हुने र समग्र अर्थतन्त्र गतिशील हुने बताएका छन्। “त्यसैले कम्तिमा तीनवटा नीति, शेयरधितो कर्जाको सीमा हटाउने, बैंकलाई शेयर कारोबारमा सहजीकरण गर्ने, र रिष्क वेटेज घटाउने व्यवस्थालाई मौद्रिक समिक्षामा समेट्न जरुरी छ,” उनले जोड दिए।
उनले पूँजी बजार स्वाभाविक रुपमा उतारचढाव हुने क्षेत्र भएको भन्दै माग र आपूर्तिको सन्तुलनबाट नै यसको दीर्घकालीन सुधार सम्भव हुने बताए। सही समयमा उचित नीति लिइयो भने पूँजी बजारबाटै अहिलेको सुस्त अर्थतन्त्रमा गति ल्याउन सकिने ढकालको भनाइ छ।
गभर्नर आए पनि बजारमा खासै सकारात्मक सुधार देखिएको छैन। यदि गतिमा बजार घट्दै जाने हो भने लगानीकर्ताले अझै ठुलो नोक्सानी बेहोर्नु पर्ने निश्चित छ। यसले गर्दा सरकारले शेयर बजार मैत्री नीति ल्याएर लगानीकर्ताको कन्फिडेन्स बढाउन सक्नु पर्छ। अर्थतन्त्रमा सुधारका लागि पनि घरजग्गा तथा शेयर बजारमा सुधार आउनु पर्नेछ। दीर्घकालिन सुधारका लागि यो राम्रो समाधान त होइन तर सरकार सँग अहिले यो बाहेक अन्य राम्रा विकल्प पनि छैन।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया