त्रिविको उप प्राध्यापक त्यागेर बीमा रोजेका राजेन्द्र महर्जनः डाक्टर बन्ने चाहना पुरा नहुँदा शिक्षा, अनुसन्धान र प्रशासनमा अब्बल
- अरुण सापकोटा
- 2025 Jun Mon 05:22

काठमाडौं । जीवनमा चाहेको कुरा पुरा नहुँदा जो कोहिमा विचलन आउछ । यदि समय अनुसार सम्हालिन सकियो भने त्यसले ठुला ठुला उपलब्धी हासिल गर्न सकिन्छ। यति मात्रै होइन, जीवन यस्तो मोडमा पुग्छ कुन उपलब्धीलाई अगाडी बढाउने भनेर ठुलो दुविधामा पर्नु पर्ने हुन्छ । नेपाल बीमा प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनको जीवनमा पनि यस्तै भयो ।
डाक्टर बन्ने सपना बोकेर प्रविणता प्रमाण पत्र तहमा साइन्स पढेका महर्जन, छात्रवृत्तिमा डाक्टर पढ्न नाम नस्किदा व्यवस्थापनमा मोडिए । शिक्षण पेशाबाट शुरु भएको उनको करिअरले काठमाडौंका प्रतिष्ठित कलेजहरू हुँदै बीमा प्राधिकरणको सहायक निर्देशकसम्मको यात्रा तय गर्यो। यति मात्रै होइन सोहि अवधिमा त्रिभुवन विश्व विद्यालयको उप प्राध्यापकमा समेत नाम निकालेर पनि अगाडी बढाउन नसक्ने अवस्था आयो।
काठमाडौंको सिनामंगलमा जन्मिएका महर्जन सानैदेखि पढाइमा तिक्ष्ण थिए। एसएलसी उत्तीर्ण भए पछि डाक्टर बन्ने सोचका साथ उनले अस्कल क्याम्पसमा विज्ञान संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे पछि डाक्टर इन्जिनियरका लागि धेरै ठाउँमा प्रवेशिका परीक्षा दिए। मध्यम वर्गिय परिवारका महर्जनको फुल स्कलरसिपमा नाम निकाल्न नसके पछि पुरै पैसा तिरेर डाक्टर इन्जियनर पढ्न रुचाएनन्। पैसा तिरेर पढ्नका लागि नाम निस्किए पनि उनका लागि तत्कालिन अवस्था सहज थिएन। यस सँगै उनको शैक्षिक यात्राले यु ट्रन गर्यो। उनले बिबिएस पढ्ने निधो गरे।
महर्जनको शिक्षण यात्रा भने २०५४ सालबाटै शुरु भयो। प्लस टुको अन्तिम परिक्षा दिएर बसेका उनलाई दिदिले खालि समयको सदुपयोग गर्दै स्कुल पढाउन प्रेरित गरिन्। दिदीको प्रेरणाले टिकाथली स्थित माउन्ट भ्यू स्कुलबाट शिक्षण यात्रा आरम्भ गरे। २०५८ सालमा शंकरदेवमा स्नातकोत्तर तहमा भर्ना भए । उनले फाइनान्समै स्पेसलाइज भएर अध्ययन पुरा गरे ।
शंकरदेव कलेज पढ्न जाने क्रममा उनले एकदिन नोटिस बोर्डमा मार्केटिङ विषयमा टप गर्ने विद्यार्थीलाई प्रा. डा. गोविन्दराम अग्रवाल पदक प्रदान गर्ने जानकारी पाए । यस सूचनाले उनलाई भित्र भित्रै मोटिभेट गर्यो। यो पदक आफुले पनि प्राप्त गर्नुपर्छ भन्ने लाग्यो । त्यहि अनुसार तयारी गरे। पुस्तकालयमा स्वदेशी र बिशेषगरी मार्केटिङ्गको Phillip Kotler को विदेशी किताब पढ्ने र नोट बनाई मेहनतका साथ पुस्तकहरु पढ्न थाले। उनले यस विषयमा सकेको मिहिनेत गरे। नभन्दै परीक्षा पनि एकदमै राम्रो भयो। तर त्यतिवेला पनि त्रिभुवन विश्वविद्यालयको नतिजा अपेक्षा गरे अनुसार आउदैन भन्ने चर्चा हुन्थ्यो। उनले भने ’मलाई पदक पाउछु भन्ने त लागेको थियो तर अर्कोतिर अलि त्रास पनि थियो ।'
नतिजा आउदा उनकै पक्षमा आयो। उनले स्नातकोत्तर तहको पहिलो बर्षको नतिजामा मार्केटिङग बिषयमा ५० मा ४० अंक ल्याए। जतिवेला १० नम्बर प्रोजेक्ट वर्क र ४० नम्बरको सैद्धान्तिक परीक्षा हुन्थ्यो। उनले प्रोजेक्ट वर्कमा १० मा १० ल्याए भने लिखितमा ३० ल्याए। उनले भदौ १६ गते बाणिज्य दिवसको दिन प्रा. डा. गोविन्दराम अग्रवाल पदक प्राप्त गरे। सम्भवत त्रि.वि.को ईतिहासमा यो नै हालसम्मको उत्कृष्ट नतिनजा हुनसक्छ र यसले उनलाई छुट्टै मोटिभेट गर्यो।
प्लस टुमा साइन्स पढेर डाक्टर बन्ने इच्छा पुरा नभए पनि व्यवस्थापन संकायबाट भए पनि केहि गर्नु पर्छ भन्ने उनको मनमा थियो। यतिवेला उनि पढाउनै छाडेर पढ्नमा केन्द्रित भए। गोल्ड मेडलिष्ट बन्न नसके पनि हाराहारी कै उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण गरे।
प्राधिकरणमा १० बर्ष भन्दा बढि कार्य गरी सकेका महर्जनले सो अवधिमा कृषि, लघु, स्थलगत निरीक्षण, अनुसन्धान लगायत पुनर्बीमा शाखामा कार्य गरिसका उनी हाल गैरस्थलगत निरीक्षण शाखाको शाखा प्रमुख रुपमा कार्य गर्दै आएका छन्।
स्नातकोत्तर सकिए पछि २०६० सालमा उनलाई ’अव कलेज पढाउनु पर्छ’ भन्ने लाग्यो। यस पछि उनको शैक्षिक यात्रा झन फराकिलो भयो। उनले प्लस टुमा एफ.डब्लु. टेलर र कलेज अफ विजनेस म्यानेजमेन्टम कलेजबाट शुरु गरे। शुरुमा व्यवस्थापनका बिभिन्न बिषयहरु पढाउदै पछि विस्तारै फाइनान्समा केन्द्रित भए ।
विस्तारै स्नातक हुँदै स्नातकोत्तर तहमा अध्यापन शुरु गरे। गोल्डेन गेट कलेजमा स्नातकोत्तर तहमा अध्यापन शुरु गरे। अध्यापन सँगै चार वटा भन्दा बढी पुस्तकहरु पनि सहयोगी लेखकका रुपमा किताव लेखनमा पनि संलग्न भए।
धेरै वटा कलेजहरुमा अध्यापन गर्दै गर्दा उनलाई भविष्यमा जागिरको सुनिश्चितताका लागि आमाले स्थायी जागिर खानु पर्छ भन्ने प्रेरणा दिनु भयो । सुझावलाई मनन गरिरहेका उनले विज्ञापन हेरिरहेका थिए। नभन्दै २०६९ मा तत्कालिन बीमा प्राधिकरणमा जागीर खुल्यो र फारम पनि भरे । समयमा परिक्षा भए पनि नतिजा भने २०७२ सालमा मात्र आएको थियो । नतिजा ढिलो आएको कारणले सोहि समयमा एम. फिल को पनि अध्ययन पूरा गरी अध्ययन र अध्ययापनलाई निरन्तरता दिदै अगाडि बढ्ने क्रम जारी रह्यो । र लामो समय पाईभेट सेक्टरमा अध्ययापन गराउँदै गर्दा त्रि. वि. मा पनि स्थायी अध्ययापन गराउँने ईच्छ्या जाग्यो र त्रिभुवन विश्वविद्यालयमा उप– प्राध्यापक पदका लागि आवेदन खुल्यो। तर तत्काल परीक्षा भने भएन। प्राधिकरणमा २०७२ सालमा जागीर खाएको करीब एक ढेड बर्ष पछि उपप्राध्यपकको परीक्षा भयो र उक्त परीक्षामा लिखित तथा अन्तर्वाता दुवै सफलताका साथ पूरा गरे ।
एकातिर प्राधिकरणको सहायक निर्देशक पद अर्को तर्फ त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापक पदमा पनि नाम निष्कियो। उनलाई धर्म संकट पर्यो। प्राधिकरण छाड्ने कि त्रिभुवन विश्व विद्यालय रोज्ने। ’यो क्षण मेरा लागि सबैभन्दा धेरै अन्योलको अवस्था रह्यो।’ त्रिविका सरहरु लगायत बीमा प्राधिकरण लगायत हितैसी मित्रहरु धेरै जना सँग सल्लाह लिए।
तत्कालिन बीमा समितिका अध्यक्ष फत्त बहादुर केसी पनि त्रिभुवन विश्व विद्यालयकै प्राध्यापक थिए। उनले केसी सँग पनि सुझाव लिए। सबै जनाको सुझाव र छलफल पछि उनले अन्तत बीमा प्राधिकरणमै करिअर अगाडी बढाउने निधो गरे। हुनत सोभाले उनि अध्ययन अध्यापनमै बढि फिट भएता पनि बीमा पनि ईमरजिङग फिल्ड भएको हुदाँ प्राधिकरण पनि भोलिका दिनमा नेपाल राष्ट्र बैंक जस्तै प्रतिष्ठित संस्था बनाउन सकिन्छ र बीमा क्षेत्रमै केहि योगदान पुर्याउने सोच बनाए। जुन उनको करिअर ग्रोथको हिसावले त्रिभुवन विश्व विद्यालयको उप–प्राध्यापक ठुलो हुन्थ्यो।
उनि भन्छन् ’नेपाल राष्ट्र बैंक बन्नुका पछाडी तहाँ भएका कम्पिटेन्ट मानव संम्साधन र अनुसन्धनात्मक काम पनि हो जसले मुलुककै हितमा काम गरेको छ। त्यस्तै गरी बीमा क्षेत्रमा कम्पिटेन्ट मानव संम्साधन भयो र यस सस्थाले पनि अनुसन्धनात्क कार्य गर्दै जादाँ बीमा प्राधिकरण पनि सबैभन्दा राम्रो प्ल्याटफर्म बन्न सक्छ भन्ने लाग्यो।
बीमा प्राधिकरणलाई पनि नेपाल राष्ट्र बैंक जस्तै संस्था बनाउनका लागि केहि न केहि इट्टा थप्न सकिन्छ भनेरै त्रिभुवन विश्व विद्यालय त्याग्ने अन्तिम निर्णय गरेको उनले बताए। प्राधिकरणमा आए पछि उनि बीमा क्षेत्रमै केन्द्रित भएर अनुसन्धानात्मक आर्टिकलहरु लेख्न थाले। अहिलेसम्ममा उनले १५ वटा भन्दा बढि रिसर्च आर्टिक लेखिसकेका छन्। राष्ट्रिय अन्तर्राष्ट्रिय सम्लेलन तथा कार्यक्रमहरुमा उनले रिसर्च आर्टिकल पिन प्रस्तुत गरिसकेका छन्। राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनहरुमा प्यानलिष्टका रुपमा आफ्नो अनुसन्धानका कुराहरु शेयर गरि आफ्नो बोद्धिक क्षमता निखार्दै अगाडि बढाउँदै आएका छन्।
संस्थागत र व्यक्तिगत रुपमा विभिन्न विश्वविद्यालयमा अनुसन्धनात्मक कार्यमा सहभागिता जनाउदै आफ्नो अनुसन्धानको दायरालाई फराकिलो बनाउदै आएका छन्। नेपाल तथा भारतका धेरै वटा विश्व विद्यालयमा उनले आफ्नो प्रस्तुती दिइसकेका छन्। नेपाल राष्ट्र बैंकले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि आफ्नो अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिसकेका छन्। जुन राष्ट्र बैंकको जर्नलमा प्रकाशन पनि भएको छ।
अध्ययन अध्यापनमा सदैव सक्रिय महर्जन अझै पनि पार्ट टाइममा अध्यापनको काम गर्दै आइरहेका छन्। आफ्नो अनुसन्धान र ज्ञानको दायरा थप फराकिलो बनाउने क्रममा हाल मध्यपश्चिमाञ्चल विश्व विद्यालयबाट पुनर्बीमाको विषयमा पिएचडी पनि गरिरहेका छन्। जीवनमा डाक्टर बन्ने लक्ष्य पुरा हुन नसके पनि शैक्षिक रुपमा डक्ट्रेट बन्ने क्रममा छन्।
आफ्नो अनुभव र ज्ञानलाई बीमा प्राधिकरणमा सक्दो उपगोग गर्न चाहिरहेका छन्। यद्यपी कर्पोरेट सेक्टरमा अझै पनि अनुसन्धानका क्षेत्रमा त्यति धेरै ध्यान पुग्न नसकेकोमा भने उनि चिन्तित छन्। नियमित प्रशासनिक कार्यमा व्यस्त हुनु पर्ने र अनुसन्धानका क्षेत्रलाई पार्टटाइमका रुपमा अगाडी बढाउनु पर्ने बाध्यताले पनि पिएचडी ढिलो हुन गएकोमा भने उनलाई दुख लाग्छ ।
प्रतिक्रिया