Nepal Life

अमेरिका प्रवेशमा भुटानसहित ३६ देशका नागरिकलाई प्रतिबन्ध लगाउने तयारी

NMB Bank
  • BFIS News
  • 2025 Jun 16 12:18
अमेरिका प्रवेशमा भुटानसहित ३६ देशका नागरिकलाई प्रतिबन्ध लगाउने तयारी
National Life

काठमाडौं, असार २।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भुटानसहित ३६ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।

Shikhar
NIMB

अमेरिकी विदेश मन्त्रालयले तयार पारेको आन्तरिक कूटनीतिक दस्तावेजअनुसार यी देशहरूलाई “चासोको सूची” मा राखिएको छ।

यसअघि, ट्रम्पले यसै महिना १२ देशका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका थिए। प्रतिबन्धको उद्देश्य अमेरिकी भूमिमा “विदेशी आतंकवादी गतिविधि” र अन्य राष्ट्रिय सुरक्षाका जोखिमहरूबाट सुरक्षा दिनु रहेको उल्लेख गरिएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हस्ताक्षर गरेको दस्तावेजका अनुसार अमेरिका प्रवेशमा रोक लगाउन लागिएका देशहरूलाई ६० दिनको समयसीमा दिइएको छ। यस अवधिमा ती देशहरूले विश्वसनीय पहिचान प्रणाली, राहदानी सुरक्षासम्बन्धी मापदण्ड, र निर्वासन सहयोगमा सुधार नगरेमा पूर्ण वा आंशिक प्रतिबन्ध लाग्ने चेतावनी दिइएको छ।

दस्तावेजमा केही देशहरूमा भिसाको अवधि नाघेर बस्ने (ओभरस्टे) समस्या, आतंकवादी गतिविधिमा संलग्नता, अमेरिका तथा यहूदीविरोधी दृष्टिकोण, तथा सरकारसँग सहकार्य नगर्ने प्रवृत्ति मुख्य चिन्ता भएका उल्लेख छ। यद्यपि, सबै देशहरूमा सबै चिन्ता लागू नहुने स्पष्ट पारिएको छ।

प्रतिबन्धको सूचीमा पर्ने सम्भावित देशहरू यसप्रकार छन्:

  • एशिया तथा प्रशान्त क्षेत्र: भुटान, कम्बोडिया, सिरिया, टोंगा, टुभालु

  • अफ्रिका महादेश: अंगोला, बेनिन, बुर्किना फासो, क्यामरुन, कोट डी’भोयर, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, जिबुटी, इथियोपिया, इजिप्ट, गाबोन, गाम्बिया, घाना, लाइबेरिया, मालावी, माउरिटानिया, नाइजर, नाइजेरिया, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगाण्डा, जाम्बिया, जिम्बाब्वे, साओ टोम र प्रिन्सिपे, काबो भर्डे

  • क्यारिबियन तथा अन्य राष्ट्रहरू: एन्टिगुआ र बारबुडा, डोमिनिका, सेन्ट किट्स एन्ड नेभिस, सेन्ट लुसिया, भानुआटु, किर्गिस्तान

यसअघि, अफगानिस्तान, म्यानमार, चाड, कंगो रिपब्लिक, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनलाई पूर्ण प्रतिबन्ध लगाइसकिएको छ भने बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलामा आंशिक प्रतिबन्ध लागू गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “विदेशी नागरिकहरूले हाम्रो कानुनको पालना गरुन् भन्ने उद्देश्यले अमेरिका आफ्नो भिसा र आप्रवासन नीतिको नियमित पुनर्मूल्यांकन गरिरहेको छ।”

विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, "हामी राष्ट्रिय सुरक्षाको उच्चतम मापदण्ड कायम राख्दै अमेरिकी नागरिकको सुरक्षामा प्रतिबद्ध छौं।”

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया