Nepal Life

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

RBB
  • BFIS News
  • 2025 Jun Mon 18:47
पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु
Shikhar detail

काठमाडौं। पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा रहेका चुनौती र सम्भावनाहरूको समीक्षा गर्न बिर्तामोड, झापामा सोमबारदेखि उप–क्षेत्र स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी  सुरु भएको छ  ।

NIMB

“पूर्वी दक्षिण एसियामा व्यापार र यातायात सञ्जाल: चुनौतीहरू र आगामी कार्यदिशा“ शीर्षकमा आयोजित कार्यशाला एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग यूएनइस्क्याप -UNESCAP_ र नेपाल सरकार राष्ट्रिय योजना आयोगको सह–आयोजनामा सञ्चालन गरिएको हो ।

कार्यशालाको उद्घाटन गर्नुहुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले पूर्वी दक्षिण एसियाली राष्ट्रहरू—नेपाल, भारत, बङ्गलादेश र भुटानबिचको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्दै क्षेत्रीय एकीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यशाला विशेष अर्थपूर्ण रहेको स्पष्ट पारे।

उपाध्यक्ष अधिकारीले यस क्षेत्रमा विद्यमान व्यापार र यातायात सञ्जालमा रहेका समस्या तथा चुनौतीहरूलाई  क्षेत्रीय सहकार्यमार्फत आवश्यक नीतिगत तथा सङ्गठनात्मक  समाधान गर्न कार्यशालाले  सुझाव प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले प्रस्तुतीकरण मार्फत “चिकेन्स नेक करिडोर” (सिलगुरी करिडोर) लाई सम्भावनाको भू–आर्थिक कोरिडोरको रूपमा व्याख्या गर्दै यसले नेपाल लगायतका देशहरूको व्यापार वृद्धि, लागत न्यूनीकरण, तथा क्षेत्रीय सहकार्यलाई मजबुत बनाउने बताए ।

उनले बङ्गलादेश, भुटान, भारत र नेपाल ढाँचामा सवारी सम्झौता     (मोटर भेहिकल एग्रिमेन्ट) जस्ता पहलहरूले पूर्वाधार एकीकरण, आर्थिक सहकार्य र समावेशी विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष अधिकारीले नेपालको १६औँ योजनाले व्यापार तथा यातायातलाई गुणस्तरीय पूर्वाधार, निर्यात प्रवर्द्धन, र क्षेत्रीय समन्वयसँग जोडिएको प्रमुख विषयवस्तुका रूपमा स्थान दिएको उल्लेख गर्दै डिजिटल व्यापार प्रणाली, भन्सार प्रणालीको आधुनिकीकरण र साना व्यापारीहरूलाई समेट्ने समावेशी रणनीति आवश्यक रहेको बताए।

उक्त कार्यशालामा काँकडभिट्टा–फूलबारी–बगलबन्धु कोरिडोरको रणनीतिक महत्त्व, डिजिटल व्यापार सहज प्रणाली, बहुपक्षीय साझेदारी तथा निजी क्षेत्रको भूमिका लगायतका विषयमा सत्रहरू सञ्चालन हुनेछन् ।

कार्यशालाबाट  पूर्वी दक्षिण एसियामा अझ मजबुत, समावेशी, र दिगो व्यापार तथा यातायात सञ्जाल निर्माणका लागि व्यवहारिक सुझावहरू प्राप्त हुने अपेक्षा गरिएको छ ।

आज र भोली दुई दिनसम्म चल्ने उक्त कार्यशालामा  काँकडभिट्टा –फूलबारी –बङ्गलाबन्धु कोरिडोरको स्थलगत अवलोकन  समेत गर्ने कार्यक्रम रहेको छ ।  

कार्यशालामा युएनइस्क्याप का नयाँ दिल्ली स्थित कार्यालयका प्रमुख मिस मिकि सहित नेपाल, भारत, बङ्गलादेश र भुटानका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्था, विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
कार्यशालाको  अध्यक्षता गर्दै आयोगकी सदस्य गीता कुमारी पौड्याल अधिकारीले कार्यशालाबाट प्राप्त सुझावहरूले नेपालसहित सम्पूर्ण उप–क्षेत्रको समावेशी तथा दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया