अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायती सवारीसाधनमा लगाइने शुल्क घटाउने कार्यादेशमा हस्ताक्षर गरे

  • BFIS News
  • 2025 Jun Tue 12:23
अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायती सवारीसाधनमा लगाइने शुल्क घटाउने कार्यादेशमा हस्ताक्षर गरे

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाट अमेरिका पठाइने सवारीसाधनमा लगाइने शुल्क घटाउने कार्यादेशमा सोमबार हस्ताक्षर गरेका छन्।

यससँगै गत महिना बेलायत र अमेरिकाबीच भएको सीमित शुल्क सम्झौताको केही प्रावधान कार्यान्वयनमा आउने भएको छ।

क्यानडामा चलिरहेको जी–७ शिखर सम्मेलनमा बेलायती प्रधानमन्त्री सर केअर स्टार्मरले यसलाई "बेलायत र अमेरिकाका लागि निकै महत्वपूर्ण दिन" भनेका छन्।

ट्रम्प प्रशासनले यस वर्ष सुरुमा अमेरिकामा भित्रिने विभिन्न वस्तुहरूमा उच्च दरको शुल्क लगाउने निर्णय गरेपछि दुई देशबीच वार्ता भएको थियो। उक्त सम्झौता बेलायती व्यवसायहरूलाई शुल्कको असरबाट जोगाउने सरकारको प्रयासको भाग हो।

नयाँ कार्यादेशअनुसार बेलायती कारहरूमा २५% आयात शुल्क घटाएर १०% कायम गरिएको छ। यद्यपि, स्टिल र एलुमिनियममा लगाइएका शुल्कका विषयमा स्पष्ट निर्णय भएको छैन।

राष्ट्रपति ट्रम्पले भने, "स्टिलसम्बन्धी जानकारी पछि दिइनेछ," भन्ने प्रतिक्रिया दिएका छन्।
बेलायती सरकारका अनुसार स्टिलजस्ता मुख्य उत्पादनहरूमा ०% शुल्क कायम गर्ने प्रयास जारी रहनेछ।

ट्रम्पद्वारा हस्ताक्षरित कार्यादेशले केही हवाई उत्पादनमा लगाइएको शुल्क पनि हटाउने उल्लेख गरिएको छ। सम्झौता कार्यान्वयनमा आएको सात दिनपछि प्रभावकारी हुनेछ।

बेलायती सवारी निर्माता संस्था Society of Motor Manufacturers and Traders का प्रमुख माइक हाउजले यो निर्णयले "उद्योगमा ठूलो राहत" ल्याएको बताए। उनका अनुसार सम्झौताको पर्खाइले गर्दा बेलायती कारहरूको अमेरिका निर्यातमा गिरावट आएको थियो।

भारतको टाटा मोटर्स स्वामित्वमा रहेको बेलायती कम्पनी Jaguar Land Rover ले अप्रिल महिनादेखि अमेरिका निर्यात स्थगन गरेको थियो र यसै कारण आय घट्ने प्रक्षेपण गरेको थियो।

हाउजका अनुसार, "बेलायतबाट अमेरिका पठाइने कारहरूले अमेरिकी उत्पादनलाई खतरा दिँदैनन्। ती उच्च मूल्यका, सानो संख्यामा उत्पादित वस्तुहरू हुन्।"

यदि सम्झौता नभएको भए, बेलायती कारहरूमा २.५% को पुरानो शुल्कमा थप २५% शुल्क लाग्थ्यो, जसले कुल २७.५% दरमा पुग्थ्यो। अब १०% शुल्क लागू भएपछि बेलायती उत्पादकहरूलाई जर्मनी वा इटलीबाट आउने प्रतिस्पर्धीभन्दा केही प्रतिस्पर्धात्मक लाभ मिल्ने बताइएको छ।

बेलायतका व्यापार तथा उद्योग सचिव जोनाथन रेनोल्ड्सले यसलाई "दुबै देशबीच तीव्र गतिमा भएको सहकार्यको परिणाम" भनेका छन्। उनले अमेरिकी बीफ र इथानोलमा कोटाका कार्यान्वयनबारे संसदमा जानकारी दिने बताएका छन्।

बेलायतले अमेरिकी बीफमा हाल २०% शुल्क लगाउँदै आएकोमा कोटा १,००० मेट्रिक टनबाट बढाएर १३,००० मेट्रिक टन पुर्‍याउने सहमति भएको छ। यद्यपि, बेलायती सरकारले खाद्य सुरक्षाको मापदण्डमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।

यद्यपि, यसलाई पूर्ण रूपमा स्वतन्त्र व्यापार सम्झौता भने मानिएको छैन। अमेरिकी राष्ट्रपति कांग्रेसको स्वीकृति बिना स्वतन्त्र व्यापार सम्झौता गर्न सक्दैनन्।

ट्रम्पले प्रधानमन्त्री स्टार्मरलाई "छ वर्षदेखि रोकिएको विषयलाई कार्यान्वयन गर्ने सफल नेता" भनेर प्रशंसा गरेका छन्। तर, बेलायती विपक्षी कन्जर्भेटिभ पार्टी नेतृ केमी बाडेनोचले यसलाई "सानो शुल्क सम्झौता" भनेर आलोचना गरेकी छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया