United Ajod

सेनाले राजा ल्याउने त्रासमा रातभर अनिदो जनता, अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीको नाममा छलफल

Everest Bank
  • BFIS News
  • 2025 Sep Fri 07:42
सेनाले राजा ल्याउने त्रासमा रातभर अनिदो जनता, अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीको नाममा छलफल

काठमाडौं, भदौ २७ –राजनीतिक अनिश्चितता र अस्थिरताबीच सेनाले रातारात कु गरेर राजा ल्याउने भन्दै उत्पन्न भयका कारण देशभरि जनताले रातभर अनिदो बिताएका छन्। सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको अफवाहले राजधानी काठमाडौंसहित देशभर तनावपूर्ण अवस्था सिर्जना गरेको छ।

यसैबीच, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने प्रस्तावसहित जेनजी (जनसेनाप्रमुख) रातभर सेना र राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त छलफलमा जुटेका थिए। जेनजीले पुराना दल र वर्तमान संसदलाई पूर्ण अस्वीकार गर्दै कार्कीको नाममा अडान लिएका छन्।

राष्ट्रपति पौडेल भने नेपाली कांग्रेसको नीतिअनुसार चल्न खोजेको भन्दै जेनजीले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि जनाउँदै चेतावनी दिएका छन्। उनले राष्ट्रपति पौडेललाई "थुतेर बाहिर ल्याउने" सम्मको गम्भीर भाषा प्रयोग गरेका छन्।

तर साँझपछि जेनजीले पुनः सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै आफूले राजा वा राजसंस्थासँग कुनै छलफल नगरेको दाबी गरेका छन्। उनले आफ्नो उद्देश्य भनेको निष्कलङ्क व्यक्तित्वमार्फत नयाँ अन्तरिम सरकार गठन गर्नु रहेको बताएका छन्। पुराना दलहरू आफ्नो एजेण्डा असफल पार्न सक्दो प्रयासरत रहेको जेनजी निकट स्रोतहरूले बताएका छन्।

शीतल निवासमा राष्ट्रपतिको पहलमा बसेको छलफलमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा ल्याउने विषयमा सैद्धान्तिक सहमति जुटेको स्रोतले जनाएको छ। तर संसद विघटनको विषय भने अझै विवादमा रहेको छ।

संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य हुनुपर्ने प्रावधान छ, जसलाई लिएर राष्ट्रपतिले वैकल्पिक संवैधानिक उपायबारे विज्ञहरूसँग परामर्श गरेका छन्। अन्ततः बिहीबार रातिदेखि चलिरहेको छलफल शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।

अब आन्दोलन र वैकल्पिक नेतृत्वबीच देशले कुन बाटो रोज्छ भन्ने प्रश्न उठिरहेको छ। जनतामा भने निरन्तर असमञ्जस र आशंका कायमै छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया