नेपालीहरुको महान पर्व दशैको अवसमा आजदेखि सुकिला नोट वितरण सुरु
- BFIS News
- 2025 Sep Sun 10:46

काठमाण्डौ, भदौ २८ – नेपाल राष्ट्र बैंकले बडादसैं २०८२ को अवसरमा आजदेखि सर्वसाधारणका लागि सुकिला नोट 'नयाँ नोट' वितरण सुरु गरेको छ। राष्ट्र बैंकले प्रत्येक वर्ष दशैको अवसरमा नयाँ नोट वितरण गर्दै आएकोमा गएको र यस वर्ष भने नयाँ भन्दा पनि पुरानै सुकिला नोट वितरण गर्ने निर्णय गरेको छ।
राष्ट्र बैंकको काठमाण्डौस्थित केन्द्रीय कार्यालय, बालुवाटारबाट सिधै सर्वसाधारणलाई सुकिला नोट वितरण गरिनेछ। यसबाहेक बैंक तथा वित्तीय संस्थाहरू मार्फत पनि उक्त नोट वितरण हुने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
सर्वसाधारणले एक व्यक्ति ५, १०, २०, ५०, १०० रुपैयाँ दरका गरी जम्मा १८,५०० रुपैयाँसम्म सुकिला नोट लिन सक्ने व्यवस्था गरिएको छ। यसले चाडपर्वमा हुने अत्यधिक भीड र दुरुपयोगलाई नियन्त्रण गर्ने उद्देश्य राखिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिएका छन्। सुकिला नोट वितरण प्रत्येक कार्य दिन बिहान १०:३० बजेदेखि दिउँसो २:३० बजेसम्म हुनेछ।
सुकिला नोट लिन आउने व्यक्तिहरूले आफ्नो नागरिकता प्रमाणपत्र वा अन्य परिचयपत्र ल्याउनु पर्नेछ। सुकिला नोट वितरणका क्रममा अनुशासन, पालो प्रणाली र सुरक्षाको उचित व्यवस्था मिलाइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
सुकिला नोट वितरणका क्रममा भीड व्यवस्थापन गर्न नेपाल प्रहरीको सहयोग लिइनेछ भने राष्ट्र बैंकले सुरक्षाका लागि विशेष सावधानी अपनाउने जनाएको छ। राष्ट्र बैंकले सुकिला नोट वितरणका क्रममा शान्तिपूर्ण ढंगले पालो कुर्न र असहज स्थिति सिर्जना नगर्न नागरिकहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया