मितेरी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा मंसिर ६ गते हुने, कार्तिक २२ गतेसम्म शेयर किन्नेले लाभांश पाउने
- BFIS News
- 2025 Oct 31 12:26
काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा आगामी मंसिर ६ गते (शनिबार) विहान ११:०० बजे सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको २६५औं बैठक, जसको बैठक मिति कार्तिक १३ गते साँझ ५:३० बजे बसेको थियो, उक्त निर्णय गरिएको हो।
बैंकले साधारण सभा प्रयोजनका लागि कार्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। सोही अनुसार, बैंकले प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश कार्तिक २२ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र पाउनेछन्।
वार्षिक साधारण सभामा विभिन्न सामान्य तथा विशेष प्रस्तावहरू प्रस्तुत गरिने बैंकले जनाएको छ। सामान्य प्रस्ताव अन्तर्गत सञ्चालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने, आगामी आ.व. २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयहरू रहेका छन्।
त्यस्तै, सञ्चालक समितिले सिफारिस गरेअनुसार हाल कायम चुक्ता पूँजी रु. १ अर्ब २१ करोड ७१ लाखको १० प्रतिशत अर्थात् रु. १२ करोड १७ लाख १० हजार बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूको निर्वाचन पनि साधारण सभाले गर्नेछ।
विशेष प्रस्तावहरू अन्तर्गत बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (merger/amalgamation) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समिति र मर्जर समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ। साथै, गाभ्ने–गाभिने प्रक्रियामा सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कनका लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव छ।
त्यसैगरी, नियामक निकायको निर्देशन अनुसार बैंकको प्रवन्धपत्र वा नियमावलीमा आवश्यक परे व्यवसायिक उद्देश्य थप वा संशोधन गर्ने कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने प्रस्ताव पनि रहेको छ।
बैंकले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रु. १ लाखभन्दा बढी खर्च गरेको विवरण पनि सभामा प्रस्तुत गरिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया