मनास्लु क्षेत्रमा पुनः पर्यटकको चहलपहल, स्थानीय व्यवसायमा उत्साह
- BFIS News
- 2025 Nov 05 14:28
सुलीकोट, कात्तिक १९ गते। केही दिनयताको हिमपातका कारण सुस्त बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्र अहिले पुनः पर्यटकको चहलपहलले जीवन्त बन्दै गएको छ। मौसम खुल्दै जाँदा हिउँ पग्लिएर पदमार्ग स्पष्ट बनेपछि आन्तरिक तथा बाह्य पर्यटकहरू मनास्लु पदमार्ग हुँदै हिमाली गाउँतर्फ आकर्षित भइरहेका छन्।
मनास्लु संरक्षण क्षेत्र (एमक्याप) गोरखाका प्रमुख सन्तोष सेरचनका अनुसार अनुकूल मौसमका कारण अहिले यात्रुहरूको आवतजावत सहज बनेको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाले सुरक्षित यात्राका लागि आवश्यक सूचना जारी गर्दै पदमार्ग खुला गरेपछि पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको उहाँको भनाइ छ।
पर्यटक पथप्रदर्शक अजय गुरुङका अनुसार, “मौसम खुलेसँगै सामागाउँबाट साम्दो हुँदै करिब छ सय पदयात्री लार्के पासतर्फ अघि बढिरहेका छन्।”
मनास्लु संरक्षण क्षेत्रअन्तर्गत सामागाउँ, ल्हो, साम्दो, नामरु र चेक जस्ता रमणीय गाउँहरूमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन्।
साम्दोका होटल व्यवसायी फुर्जेन लामाले भने, “आन्तरिक र बाह्य पर्यटकहरूले हिमाली संस्कृतिको अनुभव गर्न र अद्भुत प्राकृतिक दृश्यको मजा लिन अत्यन्त उत्साहित छन्।”
पर्यटकको आगमनसँगै स्थानीय होटल, लज तथा गाइड व्यवसाय पुनः सक्रिय बनेको उहाँले बताउनुभयो।
एमक्याप कार्यालयका अनुसार असोजदेखि कात्तिक १८ गतेसम्म मात्रै चार हजारभन्दा बढी विदेशी पर्यटकले मनास्लु पदमार्गको अनुमति लिएर यात्रा गरेका छन्।
यात्रुहरूमा अमेरिका, बेलायत, रुस, जर्मनी र जापानका नागरिकहरू बढी रहेका छन्।
स्थानीय व्यवसायी फुञ्जो तासी लामाका अनुसार, पर्यटक आगमनसँगै आर्थिक गतिविधि पुनः तीव्र बनेको छ।
“हाल सबै होटलहरू पर्यटकले भरिएका छन्, त्यसैले खाद्यान्न र अन्य सामग्रीको माग समेत बढेको छ,” उहाँले भन्नुभयो।
पदमार्ग सफा भई मौसम अनुकूल बनेपछि स्थानीय व्यवसायीहरूमा उत्साह थपिएको छ।
एमक्याप प्रमुख सेरचनका अनुसार, आगामी केही महिना मनास्लु क्षेत्र भ्रमणका लागि उत्कृष्ट समय भएकाले दैनिक सयौँ पर्यटक यहाँ आइपुगिरहेका छन्।
मनास्लु हिमाल, विमथाङ, ल्हो मठ र सामागाउँका दृश्यावलोकन स्थलहरूमा घमाइलो मौसम, स्वच्छ आकाश र हिमालको सौन्दर्यले पदयात्रीहरूलाई मोहित बनाइरहेको छ।
जिल्ला प्रशासन कार्यालय र एमक्याप कार्यालयले पर्यटक सुरक्षामा विशेष ध्यान दिइरहेका छन्।
पर्यटन व्यवसाय पुनः फस्टिँदै जाँदा उत्तरी गोरखाका बासिन्दामा आशा र उत्साह थपिएको पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताउनुभयो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया