NIMB Header 2
Nepal Life

लुटिएका हतियार फिर्ता गर्नेलाई बंगलादेशले पुरस्कार दिने

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 05 21:31
लुटिएका हतियार फिर्ता गर्नेलाई बंगलादेशले पुरस्कार दिने
National Life

ढाका, कात्तिक १९ गते । बङ्गलादेश सरकारले आगामी निर्वाचनलाई लक्षित गर्दै गत वर्षको विद्रोहका क्रममा लुटिएका सयौँ हतियार पुनःसङ्कलन गर्ने अभियान सुरु गरेको छ। यस क्रममा मेसिनगन, राइफल, पेस्तोल लगायतका हतियार आत्मसमर्पण गर्नेहरूलाई नगद पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ।

NIMB

सन् २०२४ को अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ हुने क्रममा भएको हिंसात्मक अशान्तिमा प्रहरी शस्त्रागारबाट करिब ६ हजार बन्दुक चोरी भएका थिए। प्रहरीले अहिलेसम्म ४ हजार ७०० भन्दा बढी हतियार पुनःसङ्कलन गरिसकेको र अझै १ हजार ३०० भन्दा बढी हराइरहेको जनाएको छ।

प्रहरी प्रवक्ता एएचएम शहादत हुसेनका अनुसार हतियार फिर्ता गर्नेहरूलाई पूर्ण गोपनीयता सुनिश्चित गरिनेछ। साथै, हलका मेसिनगन बुझाउनेलाई ४ हजार डलर, असॉल्ट राइफलका लागि ८ सय डलर, र शटगन वा पेस्तोलका लागि ४ सय डलरसम्म पुरस्कार दिइनेछ। गोला बारुद बुझाउनेलाई पनि उचित पारिश्रमिक दिइने भएको छ।

सरकारले लुटिएका हतियारको गलत प्रयोगबाट देशमा पुनःहिंसा नफैलियोस् भन्ने उद्देश्यका साथ यो अभियान अघि सारेको जनाएको छ।

शेख हसिनाको निर्वासनपछि बङ्गलादेशमा राजनीतिक अस्थिरता जारी छ। सन् २०२६ फेब्रुअरीमा हुने आमनिर्वाचनअघि सत्ताका लागि राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ। अधिकारवादी संस्था ओधिकर का अनुसार, विद्रोहपछि राजनीतिक हिंसामा करिब ३०० जनाको मृत्यु भएको र प्रदर्शन तथा झडपमा १५० भन्दा बढीको ज्यान गएको छ।

यसैबीच, ढाकास्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनमा अक्टोबर १८ मा भएको आगलागीसम्बन्धी अनुसन्धान पनि जारी छ। विमान बङ्गलादेश एयरलाइन्सका अधिकारी बुशरा इस्लामका अनुसार उक्त भवनमा हतियार, सुन र हिरा जस्ता बहुमूल्य वस्तुहरू भण्डारण गर्न प्रयोग गरिने भल्टको ताला भाँचिएको फेला परेको छ।

हालसम्म कति हतियार हराएका छन् भन्ने विवरण सङ्कलन भइरहेको छ भने सरकारका अनुसार विदेशी विज्ञहरूको सहयोगमा आगलागीको कारण पत्ता लगाउने कार्य अघि बढाइएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया