NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई बैंकको हरित तथा दिगो बैंकिङ्ग विकासको यात्रा

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 11 04:50
ग्लोबल आइएमई बैंकको हरित तथा दिगो बैंकिङ्ग विकासको यात्रा
National Life

काठमाडौं। दिगो बैंकिङलाई आफ्नो सञ्चालनको मेरुदण्डका रूपमा अंगाल्दै, ग्लोबल आइएमई बैंक लिमिटेड समाजमा सकारात्मक परिवर्तन ल्याउने र सबैका लागि जिम्मेवार बैंक बन्ने यात्रामा दृढताका साथ अघि बढिरहेको छ। दिगोपनलाई दीर्घकालीन रणनीतिक प्राथमिकता बनाउँदै बैंकले वातावरण संरक्षणदेखि समावेशी वित्तसम्मका विविध पहलहरू सशक्त रूपमा अघि बढाइरहेको छ।

NIMB

यसै लक्ष्यलाई मूर्त रूप दिन बैंकले हरित तथा दिगो बैंकिङ विभाग (Green and Sustainable Banking Unit) स्थापना गरेको छ। दिगोपन सम्बन्धी दक्ष कर्मचारीहरूको समावेशसहित उक्त विभागले बैंकका दिगो पहलहरूलाई योजनाबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ। साथै, बैंकले आफ्ना दिगोपन सम्बन्धी नीति, प्रतिबद्धता र गतिविधिहरू पारदर्शी रूपमा सार्वजनिक गर्दै आफ्नै वेबसाइटमा विस्तृत जानकारीसहितको छुट्टै पृष्ठ सञ्चालनमा ल्याएको छ। व्यवस्थापन स्तरमै गठन गरिएको दिगो बैंकिङ समिति (Sustainability Committee) ले यी सबै पहलहरू समन्वय र निर्देशन गर्ने प्रमुख भूमिका निर्वाह गरिरहेको छ।

प्राकृतिक वातावरणको संरक्षणतर्फ जिम्मेवारी वहन गर्दै बैंकले हालै पहिलोपटक “कार्बन डिस्क्लोजर रिपोर्ट” प्रकाशन गरेको छ। यस प्रतिवेदनमा बैंकको लगानी क्षेत्रहरूबाट हुने कार्बन उत्सर्जनको विवरण समावेश गरिएको छ, जसले पारदर्शिता र जवाफदेहिताको उच्च मापदण्ड स्थापित गरेको छ।

हरित कर्जा र दिगो सेवाहरू
ग्लोबल आइएमई बैंकले दिगो विकासका लक्ष्यहरूलाई साथ दिँदै विविध हरित कर्जा योजनाहरू अघि सारेको छ। ऊर्जा दक्ष र वातावरणमैत्री घर निर्माणका लागि ग्रीन होम लोन सुविधा मार्फत दिगो जीवनशैली प्रवर्द्धन गरिएको छ। त्यस्तै, दिगो यातायात कर्जा योजना अन्तर्गत विद्युतीय सवारीसाधन खरिद र चार्जिङ स्टेशन स्थापना गर्न कर्जा सुविधा उपलब्ध गराइँदै आएको छ, जसले सफा र हरित यातायातको दिशामा सार्थक योगदान पुर्‍याएको छ।

बैंकले नवीकरणीय ऊर्जा कर्जा योजना अन्तर्गत जलविद्युत् र सौर्य ऊर्जामा लगानी प्रवाह गर्दै स्वच्छ ऊर्जा उत्पादन र दिगो व्यवसाय सञ्चालनमा हातेमालो गरेको छ। साथै, महिलाको आर्थिक सशक्तिकरणका लागि ‘म उद्यमी’ कर्जा योजना र कृषक लक्षित औप, उखु, धान खेतीजस्ता विशेष कृषि कर्जाहरू पनि उपलब्ध गराइएका छन्। बैंकले विपन्न वर्ग, महिलाहरू, दुर्गम क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूसमेतका लागि कर्जा सुविधा प्रदान गर्दै समावेशी वित्तीय पहुँच विस्तार गरिरहेको छ।

बैंकभित्रका दिगो अभ्यासहरू
ग्लोबल आइएमई बैंकले आफ्ना कार्यालयहरूमा वातावरणमैत्री अभ्यासहरू कार्यान्वयन गरेको छ। कर्पोरेट भवनमा वर्षाको पानी संकलन प्रणालीमार्फत हरेक वर्ष करिब २,३०,००० लिटर पानी संकलन गरिन्छ। कमलादी शाखामा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना गरी ग्राहक र कर्मचारीलाई हरित यातायातको प्रयोगमा प्रोत्साहन दिइएको छ।

डिजिटाइजेशनलाई आत्मसात् गर्दै बैंकले नगदविहीन र कागजविहीन कारोबारका लागि ‘डिजिटल युनिभर्स’ स्थापना गरेको छ। कागज फोहरलाई स्थानीय व्यवसायीमार्फत पुनःप्रयोग (Recycle) गरिने व्यवस्था गरिएको छ, र आगामी तीन वर्षभित्र प्लास्टिक प्रयोग न्यूनिकरण गर्ने प्रतिबद्धता बैंकले जनाएको छ। हाल बैंकका ४१ शाखा र एक्सटेन्सन काउन्टरहरू सौर्य वा हाइब्रिड ऊर्जाबाट सञ्चालनमा छन्।

ऊर्जा दक्षताका उपायहरू कार्यान्वयन गर्न दुई शाखामा ऊर्जा लेखा परीक्षण (Energy Audit) सम्पन्न गरिएको छ। साथै, स्थानीय उत्पादन प्रवर्द्धनका लागि कमलादी कार्यालय परिसरमा साप्ताहिक “दिगो हाटबजार” सञ्चालन गर्दै बैंकले वातावरणमैत्री व्यवसायिक अभ्यासलाई समर्थन गरेको छ। बैंकले जलवायु परिवर्तन र दिगो विकाससम्बन्धी जनचेतना अभिवृद्धिका लागि पोडकास्ट कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।

क्षमता अभिवृद्धि र तालिमहरू
दिगो बैंकिङको ज्ञान र सीप अभिवृद्धिका लागि बैंकले हरित वित्त, सर्कुलर इकोनोमी, जलवायु वित्त, र नेपालको ग्रीन फाइनान्स ट्याक्सोनोमी सम्बन्धी प्रशिक्षणहरू सञ्चालन गरेको छ। साथै, विश्वव्यापी रूपमा विकसित हुँदै गएको कार्बन बजार संयन्त्र (Carbon Market Mechanism) र मिश्रित वित्त (Blended Finance) सम्बन्धी कार्यशाला र प्रशिक्षणहरूमा पनि बैंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको छ।

बैंकले विभिन्न विकास साझेदार संस्थाहरूसँग सहकार्य गर्दै जलवायु वित्त, स्रोत दक्षता, नवीकरणीय ऊर्जा, प्रविधि मैत्री व्यवसाय, र लैङ्गिक समावेशी विकासका लागि प्राविधिक सहयोग पनि प्राप्त गर्दै आएको छ।

सहकार्य र साझेदारी
दिगोपन प्राप्तिको मार्गमा सहकार्यलाई अपरिहार्य ठानेर बैंकले सरकारी, गैरसरकारी, र अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारी विस्तार गरेको छ। नेपाल सरकार मातहतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) सँग नवीकरणीय ऊर्जा र विद्युतीय सवारी चार्जिङ स्टेशन प्रवर्द्धनमा सहकार्य गरिएको छ। कोशी र कर्णाली प्रदेशका विभिन्न स्थानीय तहहरूसँग कृषि ब्याज अनुदान र समावेशी वित्तका कार्यक्रम सञ्चालन गरिएको छ।

त्यस्तै, अष्ट्रियाको University of Innsbruck अन्तर्गतको BEEN परियोजनासँग ऊर्जा दक्ष आवास प्रवर्द्धनका लागि सहकार्य गरिएको छ। स्विस Investment Fund for Emerging Markets अन्तर्गत One to Watch सँग साना तथा मध्यम प्रविधि व्यवसाय प्रवर्द्धनका लागि साझेदारी गरिएको छ। साथै, GIZ नेपालसँग सहकार्य गर्दै विद्युतीय मिनी र माइक्रो बसका लागि मिश्रित वित्त संयन्त्र लागू गरिएको छ।

ग्लोबल आइएमई बैंकको दिगो बैंकिङ यात्राले नेपालमा जिम्मेवार र हरित वित्तीय प्रणालीको नयाँ अध्याय लेखिरहेको छ। वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र समावेशी विकासमा केन्द्रित यी पहलहरूले बैंकलाई मात्र होइन, सम्पूर्ण वित्तीय क्षेत्रलाई दिगो भविष्यतर्फ अग्रसर गराइरहेको छ। दिगोपनलाई व्यवसायिक संस्कृतिको अंग बनाउने बैंकको यो प्रयास नेपाली बैंकिङ क्षेत्रका लागि अनुकरणीय उदाहरण बन्न सक्ने देखिन्छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया