धादिङ बस दुर्घटना : उपचारका क्रममा एक घाइतेको मृत्यु, २२ जनालाई काठमाडौँ ल्याइयो
- BFIS News
- 2026 Feb 23 15:15
काठमाडौँ, फागुन ११ गते । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग. २ ख. १४२१ नम्बरको यात्रुवाहक बस धादिङमा दुर्घटनामा पर्दा घाइते भएका यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । उपचारका क्रममा एक जना घाइतेको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँ का प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ ल्याइएका घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टर र १० जनाको नेसनल अस्पताल मा उपचार भइरहेको छ । उपचारका लागि ल्याइएका २३ जनामध्ये एक जना घाइतेको भने उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
नेसनल अस्पताल कलङ्कीमा ९ पुरुष र १ महिला उपचाररत छन् भने ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उपचार भइरहेको छ ।
नेसनल अस्पतालमा उपचार भइरहेकाहरूमा राजेश कुँवर (३३), सुविन मल्ल (१८), प्रतिभा पौडेल (३५), चन्द्रआशिष फुँयाल (२३), सङ्गम मल्ल (१९), प्रमिला भट्टराई (३९), डम्मरबहादुर विक (६४), कृष्ण तिवारी (२५), सुनम गुरुङ (२०) र राजेन्द्र बिसुन्के (३६) रहेका छन् ।
यस्तै ट्रमा सेन्टरमा चिनियाँ नागरिक कि मिसि हाउ (२२), एन्जी शेर्पा (४८), सोमप्रसाद मल्ल (४५), विपिन मानन्धर (३०), पूजा फुयाल (२८), सचिन्द्र सुनार (२६) र प्रदीप लामिछानेसहित अन्य पाँच जनाको उपचार भइरहेको छ । ती पाँच जनामा नोर्बु पाल्देन, स्वर्णीमा खत्री, सलिना परियार (१९), मानबहादुर थापा (४४) र लङ्साङ्गोली लामा (४८) रहेका छन् ।
उक्त बस दुर्घटनामा यसअघि १८ जनाको मृत्यु भइसकेको छ भने हालसम्म २६ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया