सल्यानमा मतदान केन्द्रको अनुगमन सम्पन्न, निर्वाचन सुरक्षामा उच्च सतर्कता
- BFIS News
- 2026 Feb 23 15:22
सल्यान, फागुन ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानका सबै मतदान केन्द्रको स्थलगत अनुगमन सम्पन्न गरिएको छ । कपुरकोट गाउँपालिकाका १० मतदान केन्द्रको निरीक्षणसँगै जिल्लाभरका सबै मतदान स्थलको अनुगमन कार्य टुङ्गिएको हो ।
मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन कार्यालय तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको संयुक्त टोलीले मतदान स्थलको निरीक्षण गरेको जनाएको छ । अनुगमनका क्रममा मतदान केन्द्रको भौगोलिक अवस्था, व्यवस्थापन तयारी, मतदाताको पहुँच, निर्वाचन सामग्रीको उपलब्धता, मतपेटिका सङ्कलन र सुरक्षाको व्यवस्थाजस्ता विषयमा विशेष ध्यान दिइएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले अनुगमनका क्रममा मतदाता, स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग अन्तरक्रिया गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मतदान केन्द्रको सुरक्षा अवस्था, पहुँचमार्ग, सञ्चार सुविधा तथा आपतकालीन व्यवस्थापनका विषयमा निरन्तर समीक्षा भइरहेको छ ।
जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीका अनुसार शनिबार कपुरकोटका १० मतदान केन्द्रको निरीक्षण सम्पन्न भएसँगै जिल्लाका सबै १ सय १७ मतदान स्थलको अनुगमन कार्य सकिएको हो । तीमध्ये १७ वटा मतदान स्थल सामान्य श्रेणीमा रहेका छन् भने अधिकांश स्थल संवेदनशील र अतिसंवेदनशील श्रेणीमा वर्गीकृत गरिएको छ ।
निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन सुरक्षाका लागि खटिने अस्थायी प्रहरी परिचालनको तयारीसमेत पूरा भइसकेको छ ।
जिल्लामा कुल १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन् । तीमध्ये ८३ हजार ३ सय २१ पुरुष र ७९ हजार १ सय २८ महिला मतदाता छन् । प्रतिनिधिसभा सदस्य पदका लागि जिल्लामा १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया