भारतमा रहेका मतदाता नफर्किँदा बाजुरामा मतदान प्रभावित हुने चिन्ता
- BFIS News
- 2026 Mar 01 13:53
बाजुरा, फागुन १७ गते । बाजुराका अधिकांश मतदाता रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा रहेकाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान प्रभावित हुने चिन्ता बढेको छ। हिउँदको समयमा रोजगारीका लागि भारत गएका मतदाता गाउँमा चुनावी चहलपहल बढे पनि अझै फर्किएका छैनन्।
बुढीगंगा नगरपालिका–१० बदेडाका स्थानीय कालु सार्कीले गाउँमा जीविकोपार्जनका लागि पर्याप्त काम नपाएपछि रोजगारीका लागि भारत जानुपरेको बताउनुभयो। “गत वर्ष गाउँमा घर बनाएको थिएँ। अहिले त्यो ऋण तिर्न परिवारसहित भारतमा आएका छौं,” उहाँले भन्नुभयो। नेताका लागि काम छोडेर गाउँ जाँदा ऋण कसरी तिर्ने भन्ने चिन्ताले मतदानका लागि फर्कन नसकेको उहाँको भनाइ छ।
बुढीगंगा नगरपालिका–१० बदेडा टोलमा करिब ८५ दलित परिवारको बसोबास छ। तीमध्ये अधिकांश परिवार यतिबेला भारतमा छन्। दशैं–तिहारमा गाउँ आएका उनीहरू मंसिर–पुसमा भारत गएका थिए। अघिल्ला निर्वाचनमा मतदान गर्न फर्किने गरे पनि यस वर्ष भने फर्किएका छैनन्।
छोराछोरीको पढाइ र परिवारको पालनपोषणका लागि यहाँका अधिकांश स्थानीय भारत जाने गरेका छन्। दशैं–तिहारमा गाउँ आउने र त्यसपछि पुनः भारत फर्किने चलन यहाँ सामान्यजस्तै बनेको छ।
बुढीगंगा नगरपालिका–१० सिगाडाका भीम सार्कीले आफू प्रत्येक चुनावमा मतदान गर्न गाउँ जाने गरे पनि नेताहरूले अपेक्षित विकास नगरेको गुनासो गर्नुभयो। “गाउँमा चुनावी चहलपहल छ, तर म अझै फर्किएको छैन। भोट हाल्न गाउँ जाँदा २० देखि ३० हजार रुपैयाँ खर्च हुन्छ, त्यति पैसा मसँग छैन,” उहाँले भन्नुभयो। घर खर्चका लागि लिएको ऋण तिर्न बाँकी भएकाले फेरि ऋण लिएर गाउँ जान नसकेको उहाँको भनाइ छ।
हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगंगा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिका तथा नगरपालिकाका अधिकांश युवा रोजगारीका लागि भारत जाने गरेका छन्। अहिले गाउँमा वृद्धवृद्धा मात्र बढी देखिन्छन्।
यसैबीच सात राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार चुनावी प्रचारमा व्यस्त छन्। नेपाली कांग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेकपा (माओवादी केन्द्र) का भूपेन्द्र सी, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही चुनावी मैदानमा छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुरामा २४ हजार ४४३ घरधुरी र कुल १ लाख ३८ हजार ९९८ जनसंख्या रहेको छ। तर कामका लागि ठूलो संख्या भारतमा बस्दै आएको स्थानीयको भनाइ छ।
निर्वाचन हुन पाँच दिन बाँकी रहँदा पनि धेरै मतदाता गाउँ नफर्किएको अवस्था छ। सुदूरपश्चिमका विभिन्न सीमा नाकामा फागुन १८ गतेदेखि २१ गते बेलुकासम्म आवागमन बन्द गर्ने सूचना जारी गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार जिल्लाका ७७ मतदान स्थल र ११८ मतदान केन्द्रमा मतदान सामग्री ढुवानी सुरु गरिएको छ। जिल्लामा ८७ हजार ८६१ मतदाता रहेका छन्। तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र अन्य दुई जना मतदाता छन्। जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया