अमेरिका–इजरायलको इरानमाथि संयुक्त आक्रमण, मध्यपूर्वमा तनाव चर्कियो
- BFIS News
- 2026 Mar 01 14:02
काठमाडौँ, फागुन १७ गते । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन्। अमेरिका–इरानबीच जेनेभामा भएको वार्ता असफल भएपछि शनिबार बिहानदेखि तेहरानसहित विभिन्न स्थानमा हवाई आक्रमण गरिएको हो।
आफूमाथि भएको आक्रमणको प्रत्युत्तरमा इरानले इजरायलसहित कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। सम्बद्ध अधिकारीहरूका अनुसार ती क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट पारेको छ। इरानको जवाफी आक्रमणपछि मध्यपूर्वका हवाई उडानहरू प्रभावित भएका छन्।
कतारस्थित अल जजिरा टेलिभिजनका अनुसार दक्षिण इरानका दुई विद्यालयमा इजरायली आक्रमण हुँदा ५१ विद्यार्थीको मृत्यु भएको दाबी गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ठूलो सैन्य कारबाही सुरु गरिएको बताउँदै इरानको वर्तमान सत्ता परिवर्तनका लागि नागरिकलाई आह्वान गर्नुभएको छ। अमेरिकी समाचार संस्था एपीले दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानमाथिको आक्रमणमा अमेरिकाको प्रत्यक्ष संलग्नता रहेको जनाएको छ।
गत वर्ष जुलाईमा इजरायल–इरान तनावका क्रममा अमेरिकाले इरानका तीन प्रमुख आणविक केन्द्रमा जिबियु–५७ बम प्रहार गरेको थियो। ती केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरिए पनि पुनः परमाणु कार्यक्रम सञ्चालन भइरहेको विवरण सार्वजनिक भएपछि अमेरिकाले इरानलाई कार्यक्रम रोक्न दबाब दिँदै आएको छ।
ओमान र जेनेभामा पटक–पटक वार्ता भए पनि सहमति नजुटेपछि अमेरिकाले मध्यपूर्वका विभिन्न क्षेत्रमा युद्धपोतसहित सैन्य शक्ति तैनाथ गरेको थियो। अमेरिकी टेलिभिजन सिएनएनले पनि अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इजरायल र अमेरिकाले संयुक्त रूपमा आक्रमण गरेको जनाएको छ।
तेहरानमा प्रत्यक्षदर्शीहरूले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालयनजिक विस्फोट भएको बताएका छन्। सहरको केन्द्र भागबाट बाक्लो धुवाँ उठेको देखिएको छ। ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र थिए वा थिएनन् भन्ने स्पष्ट भएको छैन। इरानी सरकारी टेलिभिजनले विस्फोट पुष्टि गरेको भए पनि क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन।
आक्रमणपछि इरानले आफ्नो हवाईक्षेत्र बन्द गरेको छ। यसअघि नै आक्रमण भए अमेरिकी सैनिक र सैन्य अड्डालाई निसाना बनाइने चेतावनी दिएको इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले विज्ञप्ति जारी गर्दै इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत निस्तेज पारिएको जनाएको छ।
इजरायलले देशव्यापी आपत्काल घोषणा गर्दै हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको छ। सर्वसाधारणलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरिएको छ। इजरायलले उक्त सैन्य अभियानलाई ‘अपरेसन रोअर लायन’ नाम दिएको छ।
अमेरिकाले इरानको आणविक कार्यक्रम नियन्त्रणका लागि सम्झौता चाहेको बताउँदै आएको छ। इरान भने युरेनियम संवर्धनको अधिकार कायम राख्ने अडानमा छ। साथै, लामो दूरीका क्षेप्यास्त्र कार्यक्रम तथा हमास र हेजबुल्लाहजस्ता समूहप्रतिको समर्थनबारे थप वार्तामा अनिच्छुक देखिएको छ।
यसैबीच नेपाल सरकारले मध्यपूर्वको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्काल स्थगित गर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन र सम्बन्धित निकायका सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ।
मन्त्रालयले काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहन तथा स्थिति सामान्य नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ। मध्यपूर्वका अन्य देशमा बसोबास गरिरहेका नेपालीलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न भनिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया