निर्वाचन अघिल्लो दिन रात्रि बस नचल्ने
- BFIS News
- 2026 Mar 01 14:19
काठमाडौँ, फागुन १७ गते । निर्वाचनको अघिल्लो दिन फागुन २० गते लामो तथा मध्यम दूरीका रात्रि बस सञ्चालन नहुने यातायात व्यवसायीले जनाएका छन्। मतदानलाई लक्षित गर्दै निर्वाचन आयोग ले फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ ५ बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएकाले रात्रि बस नचलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले जनाएको छ।
फागुन २० गते दिउँसो भने नियमित रूपमा यातायात सञ्चालन हुने महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। उहाँका अनुसार २० गते राति १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बसहरू मात्र सञ्चालन हुने छन्। सो दिनका लागि रात्रि बसको टिकटसमेत नकटाइएको उहाँले बताउनुभयो।
एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन भने निर्बाध रूपमा सञ्चालन हुने छन्। सञ्चारगृहलगायत अन्य आवश्यक सवारी साधनले आयोगबाट पास लिएर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ।
“तोकिएको समयमा मात्रै हामीले सवारी सञ्चालन गर्ने हो। नियमविपरीत सार्वजनिक सवारी सञ्चालन गर्ने कुरै भएन,” सिटौलाले भन्नुभयो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया