नयाँ विधानअनुसार मात्रै निर्वाचन गर्नुपर्नेमा इप्पान उपमहासचिव दुलालको जोड
- BFIS News
- 2026 Jun 09 13:31
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश दुलालले संस्थाको निर्वाचन नयाँ संशोधित विधानअनुसार मात्रै हुनुपर्ने बताएका छन्। उनले विधान संशोधनको प्रक्रिया संस्थाको २१औं वार्षिक साधारण सभादेखि नै सुरु भएको र २३औं वार्षिक साधारण सभाले संशोधन मस्यौदालाई पारित गरिसकेको दाबी गरे।
दुलालका अनुसार २१औं वार्षिक साधारण सभाले विधान संशोधनका लागि सल्लाहकार भानु पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले तयार पारेको संशोधन मस्यौदा २३औं वार्षिक साधारण सभामा पेश गरिएको र सभाले त्यसलाई अनुमोदन गरेको उनले बताए।
“२३औं वार्षिक साधारण सभाले पारित गरिसकेको निर्णय कार्यान्वयन गरेर मात्रै निर्वाचन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,” दुलालले भने। उनका अनुसार संशोधित विधानलाई जिल्ला प्रशासन कार्यालयबाट औपचारिक स्वीकृति नल्याइएकै कारण अहिले पनि विधान संशोधनको विषय साधारण सभाको एजेण्डामा रहेको छ।
उनले विवादको मुख्य कारण प्राविधिक प्रक्रिया पूरा नभएको मात्र रहेको उल्लेख गर्दै नयाँ विधानअनुसार निर्वाचन गरिनुपर्ने बताए। “२३औं साधारण सभाले पारित गरेको निर्णय कार्यान्वयन नगरी पुरानो विधानमा निर्वाचन गराउने प्रयास भइरहेको छ,” उनले आरोप लगाए।
दुलालले केही पक्ष पुरानै विधानअनुसार निर्वाचन गर्न चाहिरहेको बताए पनि कार्यसमितिको बहुमतले साधारण सभाको निर्णयलाई निष्प्रभावी बनाउन नसक्ने जिकिर गरे। “साधारण सभाको निर्णय कार्यान्वयन गर्नु कार्यसमितिको दायित्व हो। कार्यसमितिको बहुमतले साधारण सभाको निर्णय काट्न सक्दैन,” उनले भने।
निर्वाचन नयाँ विधानअनुसार गरिनुपर्ने पक्षमा संस्थाभित्र व्यापक समर्थन रहेको पनि दुलालको दाबी छ। उनका अनुसार कार्यसमिति र सल्लाहकारसहितका अधिकांश सदस्यहरू संशोधित विधानअनुसार निर्वाचन गरिनुपर्ने पक्षमा छन्।
“मेरो अनुमानमा भोटाधिकार भएका करिब ५० जनामध्ये ४० जनाले नयाँ विधानअनुसार निर्वाचन हुनुपर्छ भन्ने धारणा राख्छन्, जबकि १०–१२ जनाले पुरानो विधानको पक्ष लिन सक्छन्,” उनले भने।
इप्पानभित्र विधान संशोधन र निर्वाचन प्रक्रियालाई लिएर देखिएको मतभेद आगामी साधारण सभा तथा निर्वाचनको मुख्य विषय बन्ने देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया