बैंक तथा वित्तीय संस्थालाई ‘मेरो कित्ता’ प्रणाली अनिवार्य, जग्गासम्बन्धी सेवा अब अनलाइनमार्फत
- BFIS News
- 2026 Jun 13 12:00
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नापी कार्यालयबाट प्राप्त हुने जग्गासम्बन्धी सेवाका लागि अब अनिवार्य रूपमा ‘मेरो कित्ता’ प्रणाली प्रयोग गर्न निर्देशन दिएको छ। यस व्यवस्थासँगै धितोसम्बन्धी कागजात प्राप्ति तथा राजस्व भुक्तानी प्रक्रिया थप डिजिटल, सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयका सेवाहरू लिन ‘मेरो कित्ता’ प्रणालीमा संस्थागत प्रयोगकर्ताका रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरेको हो।
संशोधित व्यवस्थाअनुसार नापी कार्यालयसँग सम्बन्धित सेवा प्राप्त गर्दा लाग्ने राजस्व तथा अन्य शुल्कसमेत ‘मेरो कित्ता’ प्रणालीमार्फत अनलाइन रूपमा भुक्तानी गर्नुपर्नेछ। यसअघि यस्ता सेवाका लागि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू नापी कार्यालयमा प्रत्यक्ष उपस्थित भई कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेको थियो।
नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूको समय र लागत बचत हुनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। साथै, धितो मूल्याङ्कन तथा जग्गासम्बन्धी आवश्यक कागजात प्राप्त गर्ने प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व बढ्ने अपेक्षा गरिएको छ।
‘मेरो कित्ता’ नापी विभागद्वारा सञ्चालन गरिएको अनलाइन प्रणाली हो। यसमार्फत जग्गाको नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टर उतार लगायतका विभिन्न सेवाहरू प्राप्त गर्न सकिन्छ।
उक्त प्रणालीमा बैंक तथा वित्तीय संस्थाका साथै स्थानीय तहहरू पनि संस्थागत प्रयोगकर्ताका रूपमा दर्ता हुन सक्ने व्यवस्था रहेको छ। राष्ट्र बैंकको पछिल्लो निर्देशनले बैंकिङ क्षेत्रको डिजिटल रूपान्तरणलाई थप गति दिने तथा सरकारी सेवा प्राप्तिको प्रक्रियालाई प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया