विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई प्रवेश गराउन सकारात्मक छु : कामु कार्यकारी निर्देशक श्रेष्ठ
- BFIS News
- 2026 Jun 12 11:10
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विद्युत व्यापार तथा प्रसारण लाइन निर्माण क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्न आफू सकारात्मक रहेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २६औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै श्रेष्ठले विद्युत उत्पादनमा निजी क्षेत्रले पुर्याएको योगदान उल्लेखनीय रहेको बताए।
उनले अब ऊर्जा क्षेत्रको थप विकासका लागि विद्युत व्यापार (पावर ट्रेडिङ) र प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई अवसर दिनुपर्ने धारणा राखे। “उत्पादनमा निजी क्षेत्रले पुर्याएको योगदान अत्यन्त सराहनीय छ। निजी क्षेत्रलाई पावर ट्रेडिङ र प्रसारण लाइन निर्माणमा प्रवेश गराउनुपर्छ भन्ने विषयमा म स्पष्ट छु। यसबारेमा मन्त्रीज्यूलाई पनि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको कुरा राख्दै आएको छु,” श्रेष्ठले भने।
सरकारले तय गरेको १५ हजार मेगावाट विद्युत निर्यातको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो। ऊर्जा उत्पादन, लगानी विस्तार तथा निर्यात अभिवृद्धिका लागि सरकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए।
श्रेष्ठले ऊर्जा विकासका लागि सक्रिय निजी क्षेत्र विभिन्न वनसम्बन्धी कानुनी तथा प्रशासनिक समस्याका कारण प्रभावित भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए। उनले वनसम्बन्धी जटिलता हटाउन ऊर्जा मन्त्रीले विशेष पहल गर्नुपर्ने र त्यसबाट निजी क्षेत्रको मनोबल बढ्ने विश्वास व्यक्त गरे।
ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण, आयोजना कार्यान्वयनका अवरोध हटाउने तथा निजी क्षेत्रलाई थप जिम्मेवारी दिने नीतिले देशको ऊर्जा विकासलाई गति दिने श्रेष्ठको धारणा थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया