बहाल करमा संशोधन, करदातालाई छुट सुविधा
- BFIS News
- 2026 Jun 19 09:48
काठमाडौं। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बिहीबार बजेट प्रस्तुत गर्दै आवासीय प्रयोजनका लागि भाडामा लगाइएका घरजग्गाबाट वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा कम आम्दानी हुनेमा ५ प्रतिशत बहाल कर कायम रहने तथा सोभन्दा माथिको आम्दानीमा लाग्ने कर १० प्रतिशतबाट घटाएर ७ प्रतिशत बनाइएको जानकारी दिइन्।
करको दायरा विस्तार गर्ने उद्देश्यले असोज मसान्तभित्र कर तिर्ने नयाँ करदातालाई १० प्रतिशत छुट दिने तथा सोही अवधिभित्र बक्यौता कर चुक्ता गर्ने करदाताको जरिवाना मिनाहा गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
महानगरले कर प्रशासनलाई थप प्रभावकारी बनाउन विज्ञ तथा सरोकारवाला निकायसँग सहकार्य गर्ने, कर विश्लेषणलाई सुदृढ बनाउने र करदातालाई विभिन्न वस्तुगत संघ–संस्थासँग आबद्ध गराएर करको दायरा फराकिलो बनाउने योजना पनि अघि सारेको छ। केही शीर्षकका सिफारिस दस्तुर निःशुल्क गर्ने व्यवस्था पनि बजेटमा समावेश गरिएको छ।
घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा
आगामी आर्थिक वर्षदेखि महानगरभित्रका नागरिकलाई घरदैलोमै पुगेर नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिने भएको छ।
यसैगरी, युवालाई लक्षित स्वरोजगार कार्यक्रम सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ। जेनजी, सहिद तथा अमर प्रहरीको नामावली समेटिएको स्मारक निर्माणका लागि पनि बजेट व्यवस्था गरिएको महानगरले जनाएको छ।
महानगर अस्पताल निर्माणका लागि ४ करोड विनियोजन
काठमाडौँ महानगरपालिकाले बहुवर्षीय योजनाअन्तर्गत आफ्नै अस्पताल निर्माण गर्ने घोषणा गरेको छ। अस्पताल निर्माणको पहिलो वर्षका लागि ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
स्वास्थ्य क्षेत्रअन्तर्गत टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन, ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप उपलब्ध गराउन १ करोड रुपैयाँ विनियोजन तथा क्यान्सरलगायत जटिल रोगको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ।
स्वास्थ्यजन्य फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको छ भने स्वनिगः विश्वविद्यालय स्थापना सम्बन्धी कानुनी तथा व्यवस्थापकीय प्रक्रिया सुरु गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ। पोषणभत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ।
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ का छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको अन्तिम मनोनयन (र्यापअप) प्रक्रियाका लागि पुनः अनलाइन आवेदन खुला गरेको छ।
महानगर शिक्षा अधिकारी नमराज ढकालका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा समावेश हुन नसकेका तथा अन्तिम मनोनयन प्रक्रियामा सहभागी हुन चाहने परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकता छनोट गरी पुनः आवेदन दिन सक्नेछन्।
महानगरले यस वर्ष १४५ शिक्षण संस्थामा ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेको थियो। पहिलो सूचीबाट ३ हजार ५१ र दोस्रो सूचीबाट २३० विद्यार्थी भर्ना भइसकेपछि १ हजार ५७६ सिट रिक्त रहेका छन्। ती सिटमा अन्तिम मनोनयनका लागि नयाँ प्राथमिकता छनोटको अवसर प्रदान गरिएको हो।
अनलाइन आवेदन प्रक्रिया बिहीबार बिहान १० बजेदेखि सुरु भइसकेको छ। इच्छुक विद्यार्थीले असार ८ गते साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन्। अन्तिम मनोनयन विद्यार्थीको समग्र योग्यताक्रम (ओभरअल मेरिट) का आधारमा गरिने जनाइएको छ।
छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ सूचीमा ३ हजार ७३५ विद्यार्थी परेका थिए, जसमध्ये ३ हजार ५१ जना भर्ना भएका थिए। त्यसपछि रिक्त सिटका आधारमा दोस्रो सूचीमा ४८६ विद्यार्थीको नाम प्रकाशित गरिएको थियो। छात्रवृत्ति छनोट परीक्षा जेठ १७ गते सञ्चालन गरिएको थियो भने प्रारम्भिक र अन्तिम नतिजा क्रमशः जेठ १८ र २१ गते सार्वजनिक गरिएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया