११ महिनामा जीवन बीमा व्यवसाय १ खर्ब ७३ अर्ब नाघ्यो, आईएमई लाइफको वृद्धि सबैभन्दा तीव्र
- BFIS News
- 2026 Jun 24 13:24
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार साउनदेखि जेठ मसान्तसम्म सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले अघिल्लो वर्षको तुलनामा उल्लेख्य व्यवसाय वृद्धि गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय १ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो। यस वर्ष उक्त रकम १२.६२ प्रतिशतले बढेको प्राधिकरणको तथ्यांकले देखाएको छ।
समीक्षा अवधिमा सबै १४ जीवन बीमा कम्पनीको व्यवसाय विस्तार भएको छ। प्रतिशतका आधारमा सबैभन्दा उच्च वृद्धि आईएमई लाइफ इन्स्योरेन्सको रहेको छ। कम्पनीको व्यवसाय ३०.७९ प्रतिशतले बढेर ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको व्यवसाय ४ अर्ब ७२ करोड रुपैयाँ थियो।
त्यसैगरी, सिटिजन लाइफ इन्स्योरेन्सको व्यवसाय २० प्रतिशतले वृद्धि भई ७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीले ६ अर्ब ३२ करोड रुपैयाँको व्यवसाय गरेको थियो। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय पनि १८.७२ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब ५५ करोड रुपैयाँ थियो।
अन्य कम्पनीमध्ये राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय १७.९३ प्रतिशत, नेशनल लाइफको १७.४९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १४.८८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १२.५६ प्रतिशत तथा नेपाल लाइफको १२.५३ प्रतिशतले वृद्धि भएको छ।
कुल व्यवसायका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ११ महिनामा ४६ अर्ब १६ करोड रुपैयाँको व्यवसाय गरेको छ। नेशनल लाइफको २२ अर्ब २१ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को १८ अर्ब ४८ करोड रुपैयाँ, हिमालयन लाइफको १५ अर्ब ७९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको १० अर्ब ६२ करोड रुपैयाँ तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० अर्ब ५२ करोड रुपैयाँको व्यवसाय रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया