वर्ल्डलिंकको आम्दानी १२ अर्ब नाघ्यो, क्रेडिट रेटिङ ‘ए प्लस’मा उक्लियो
- BFIS News
- 2026 Jun 24 13:35
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको वार्षिक आम्दानी १२ अर्ब रुपैयाँ नाघेको छ।
वित्तीय सूचकहरूमा सुधार, ग्राहक संख्या विस्तार तथा बजार उपस्थितिको आधारमा कम्पनीको दीर्घकालीन र अल्पकालीन कर्जाको क्रेडिट रेटिङसमेत स्तरोन्नति भएको छ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपालले वर्ल्डलिंकको दीर्घकालीन बैंक कर्जाको रेटिङ ‘केयर एनपी ए’ बाट ‘केयर एनपी ए प्लस’मा तथा अल्पकालीन कर्जाको रेटिङ ‘केयर एनपी ए२ प्लस’ बाट ‘केयर एनपी ए१’ मा वृद्धि गरेको जनाएको छ। कम्पनीले कुल २ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको थियो, जसमा १ अर्ब १ करोड १० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७५ करोड रुपैयाँ अल्पकालीन कर्जा समावेश छन्।
रेटिङ एजेन्सीका अनुसार कम्पनीको वित्तीय अवस्था, आम्दानीमा निरन्तर वृद्धि, ग्राहक संख्या विस्तार तथा बजारमा कायम नेतृत्वकारी उपस्थितिका कारण रेटिङमा सुधार गरिएको हो।
वर्ल्डलिंकले गत आर्थिक वर्षमा १२ अर्ब १३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ९.०१ प्रतिशतले बढी हो। कम्पनीको सञ्चालन नाफा मार्जिन ३२.६१ प्रतिशत पुगेको छ भने नगद सञ्चिति करिब ३ अर्ब रुपैयाँ रहेको उल्लेख गरिएको छ।
कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ। सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँ रहेको आम्दानी सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको थियो।
रेटिङ प्रतिवेदनले कम्पनीको ऋण–पूँजी अनुपात र ऋण भुक्तानी क्षमतामा पनि सुधार आएको उल्लेख गरेको छ। नयाँ इक्विटी लगानी तथा सञ्चित नाफाका कारण कम्पनीको नेटवर्थ बलियो बनेको र वित्तीय जोखिम घटेको निष्कर्ष एजेन्सीले निकालेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ जुलाईसम्म वर्ल्डलिंकका १० लाखभन्दा बढी ग्राहक थिए र बजार हिस्सा करिब ३२ प्रतिशत पुगेको थियो। सन् २०२६ अप्रिलसम्म ग्राहक संख्या बढेर १० लाख ८० हजार पुगेको छ।
यद्यपि, रेटिङ एजेन्सीले इन्टरनेट सेवा उद्योगमा उच्च पूँजीगत लगानीको आवश्यकता, तीव्र प्रतिस्पर्धा, मूल्यसम्बन्धी दबाब, विदेशी मुद्रा जोखिम, नियामकीय परिवर्तन तथा प्रविधिगत रूपान्तरणजस्ता चुनौतीहरू कायम रहेको पनि औँल्याएको छ।
कम्पनीमा विदेशी लगानीको मात्रा पनि वृद्धि भएको छ। सन् २०२३ जनवरीमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबाट १ अर्ब ८ करोड रुपैयाँ तथा सोही वर्ष मार्चमा डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ लगानी प्राप्त भएको थियो। त्यसपछि सन् २०२६ फेब्रुअरीमा फिनिस फन्ड फर इन्डस्ट्रियल कोअपरेसन लिमिटेडले थप १ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेको थियो।
यी लगानीपछि सन् २०२६ मध्य-अप्रिलसम्म कम्पनीमा कुल विदेशी लगानी ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। उक्त रकम नेटवर्क विस्तार, पूर्वाधार विकास तथा सेवा विस्तारका लागि प्रयोग भइरहेको जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया