NIMB Header 2
Nepal Life

हिमालयन रिइन्स्योरेन्समा नेतृत्व संकट गहिरियो, कामु सीईओको ६ दिनमै राजीनामा

IME LIFE
  • BFIS News
  • 2026 Jun 24 13:49
हिमालयन रिइन्स्योरेन्समा नेतृत्व संकट गहिरियो, कामु सीईओको ६ दिनमै राजीनामा
United Ajod

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड (हिमालयन री) मा सञ्चालक समिति र व्यवस्थापकीय तहमा लगातार भइरहेको फेरबदलले संस्थाको नेतृत्व संकट थप गहिरिएको छ।

Nepal Life
NIMB

नियमित प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलम्बनमा परेपछि नियुक्त गरिएका कायममुकायम सीईओ मुकेशकुमार कपुरले जिम्मेवारी सम्हालेको छ दिनमै पदबाट राजीनामा दिएका छन्।

कम्पनीले असार २ गते कपुरलाई कामु सीईओको जिम्मेवारी दिएको थियो। तर उनले असार ८ गते पदबाट राजीनामा बुझाएका हुन्। यससँगै कम्पनीको नेतृत्व तथा व्यवस्थापन संरचनामा थप अन्योल उत्पन्न भएको छ।

हिमालयन रीमा पछिल्ला केही महिनादेखि सञ्चालक समितिमा समेत निरन्तर फेरबदल भइरहेको छ। फागुन २५ गते तत्कालीन अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएपछि बोर्ड पुनर्गठनको प्रक्रिया सुरु भएको थियो। उनको राजीनामा चैत २४ गते स्वीकृत भएपछि उदयकुमार निरौला अध्यक्ष नियुक्त भएका थिए। सोही क्रममा अन्य केही सञ्चालकहरू पनि परिवर्तन गरिएका थिए।

वैशाख ४ गते कम्पनीका चार सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुभाष कुमार झुनझुनवालाले सामूहिक रूपमा राजीनामा दिएका थिए। त्यसपछि रिक्त स्थानमा नयाँ सञ्चालक नियुक्त गरिएको थियो।

असार ८ गते बसेको सञ्चालक समितिको बैठकमा कामु सीईओ कपुरको राजीनामासँगै सञ्चालक दीपककुमार मिश्रले पनि पद छाडेका छन्। त्यस्तै, संस्थापक शेयरधनी टेली डिरेक्ट प्रालिले आफ्ना प्रतिनिधि सञ्चालक पृथ्वीराज थापालाई फिर्ता बोलाउने निर्णय गरेको छ। कम्पनीले सोही बैठकबाट सागरप्रसाद मुल्मीलाई सर्वसाधारण शेयरधनीतर्फको सञ्चालक नियुक्त गरेको जनाएको छ।

कम्पनीमा देखिएको अस्थिरताको पृष्ठभूमिमा बीमा ऐन, २०७९ विपरीत आर्थिक हिनामिना गरेको आरोपमा सरकारी वकीलको कार्यालयले ४२ जनाविरुद्ध मुद्दा दायर गरेको विषय रहेको छ। उक्त मुद्दापछि ३२ जना बहालवाला पदाधिकारी निलम्बनमा परेका छन् भने आठ जना पूर्व पदाधिकारीसहित अन्य व्यक्तिहरू पनि कानुनी प्रक्रियामा तानिएका छन्।

यस घटनाको प्रभाव हिमालयन रीमा प्रत्यक्ष रूपमा परेको छ। कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित आठ जना उच्च पदाधिकारी निलम्बनमा परेका छन्। निलम्बित हुनेहरूमा सञ्चालक तथा विभिन्न समितिका सदस्यहरू पनि समावेश छन्।

यसैबीच, नेपाल बीमा प्राधिकरणले कम्पनीलाई आगामी आर्थिक वर्षको असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय स्वीकार गर्न रोक लगाएको छ। यद्यपि, यसअघि भएका पुनर्बीमा कारोबार व्यवस्थापन तथा दाबी भुक्तानीसम्बन्धी कार्य भने जारी राख्न पाउने व्यवस्था गरिएको छ।

लगातारको नेतृत्व परिवर्तन, कानुनी विवाद र नियामकीय प्रतिबन्धका कारण हिमालयन रीको संस्थागत स्थायित्व तथा सुशासनमाथि प्रश्न उठ्न थालेको छ। कम्पनीले एकै समयमा व्यवस्थापकीय, कानुनी र व्यावसायिक चुनौती सामना गरिरहेको देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया