नेपालको सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउने जिम्मा उमेश श्रेष्ठलाई, को हुन् नयाँ प्रेस काउन्सिल अध्यक्ष?
- BFIS News
- 2026 Jul 13 18:14
डिजिटल पत्रकारिताका प्रारम्भिक अभियन्तादेखि प्रेस काउन्सिल नेतृत्वसम्मको यात्रा, अब कानुन सुधारदेखि गलत सूचना नियन्त्रणसम्मका चुनौती
काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा वरिष्ठ पत्रकार तथा डिजिटल पत्रकारिताका प्रारम्भिक अभियन्ता उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकले खुला प्रतिस्पर्धामार्फत चयन भएका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
श्रेष्ठले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। नियुक्तिपछि उनले पत्रकारितालाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्। साथै, पछिल्लो समय सञ्चार क्षेत्रमा बढ्दो गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) प्रमुख चुनौतीका रूपमा देखिएकाले त्यसको पहिचान, तथ्य परीक्षण र नियन्त्रणका लागि प्रभावकारी पहल आवश्यक रहेको उनको भनाइ छ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चार माध्यमको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहे पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेकाले त्यसलाई समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, स्वनियमन प्रणालीलाई सुदृढ बनाउने, प्रेस स्वतन्त्रताको संरक्षण गर्ने र जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्ने विषय आफ्नो कार्यकालका प्राथमिकतामा रहने उनले बताएका छन्।
को हुन् उमेश श्रेष्ठ?
उमेश श्रेष्ठ नेपाली डिजिटल पत्रकारिताको प्रारम्भिक चरणसँग जोडिएका परिचित पत्रकार हुन्। उनी विशेषगरी 'माइसंसार' का संस्थापक तथा सञ्चालकका रूपमा चिनिन्छन्। नेपालमा सन् २००५–०६ तिर ब्लगिङ र स्वतन्त्र अनलाइन पत्रकारिताले गति लिन थालेको समयमा माइसंसारमार्फत उनले वैकल्पिक पत्रकारिताको अभ्यास अघि बढाएका थिए।
माइसंसारले राजनीति, सुशासन, सार्वजनिक नीति, भ्रष्टाचार, सञ्चार र समसामयिक घटनाका विषयमा समाचार तथा विश्लेषण प्रकाशित गर्दै परम्परागत सञ्चारमाध्यमभन्दा फरक पहिचान बनाएको थियो। नागरिकका गुनासा र सार्वजनिक सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने माध्यमका रूपमा यो प्लेटफर्म लामो समय चर्चामा रह्यो।
श्रेष्ठले आफ्नो पत्रकारिता यात्रामा छापा, टेलिभिजन र अनलाइन तीनै माध्यममा काम गरेका छन्। उनले च्यानल नेपाल मा संवाददाता, एभिन्युज टेलिभिजन मा वरिष्ठ संवाददाता तथा प्रोड्युसर, नागरिकन्युज डटकम मा वरिष्ठ संवाददाता, अन्नपूर्णपोस्ट डटकम मा डेपुटी एडिटर, पहिलोपोस्ट डटकम मा सम्पादक, परेवा अनलाइन, सिटी टाइम्स, नयाँ सडक राष्ट्रिय दैनिक र स्पेसटाइम राष्ट्रिय दैनिक मा पनि विभिन्न सम्पादकीय जिम्मेवारी सम्हालेका छन्।
त्यसैगरी, उनले नेपाल फ्याक्ट चेक मा सम्पादकका रूपमा समेत काम गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाको तथ्य परीक्षणमा योगदान दिएका छन्। डिजिटल पत्रकारिता, तथ्यमा आधारित सामग्री र नागरिक सहभागितालाई प्रोत्साहन गर्ने अभ्यासका कारण उनी "सालोक्य" नामबाट पनि परिचित छन्।
प्रेस काउन्सिलका अगाडि चुनौती
श्रेष्ठले नेतृत्व सम्हालेसँगै प्रेस काउन्सिल नेपालले सामना गरिरहेका चुनौती पनि उत्तिकै महत्वपूर्ण छन्। प्रेस काउन्सिलको मुख्य भूमिका पत्रकारिताको आचारसंहिता कार्यान्वयन गराउने र स्वनियमन प्रणालीलाई प्रवर्द्धन गर्ने भए पनि सञ्चार क्षेत्रलाई प्रत्यक्ष नियन्त्रण गर्ने अधिकार भने यससँग छैन।
सीमित कानुनी अधिकार, स्वनियमनमा आधारित संरचना, नेतृत्व नियुक्तिमा राजनीतिक प्रभावको आशंका, अनलाइन र सामाजिक सञ्जालको तीव्र विस्तार, विभिन्न नियामक निकायबीच अधिकारको विभाजन तथा पर्याप्त स्रोत–साधन र जनशक्तिको अभावका कारण काउन्सिलले सञ्चार क्षेत्रलाई प्रभावकारी रूपमा नियमन गर्न नसकेको आलोचना हुँदै आएको छ।
यस्ता चुनौतीबीच नयाँ नेतृत्वले प्रेस काउन्सिलसम्बन्धी कानुनलाई समयानुकूल बनाउने, डिजिटल सञ्चारको प्रभावकारी अनुगमन गर्ने, पत्रकार आचारसंहिताको कार्यान्वयनलाई बलियो बनाउने तथा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबीच सन्तुलन कायम गर्ने दिशामा कस्तो भूमिका निर्वाह गर्छ भन्ने विषय अब चासोका साथ हेरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया