विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणले १५.७१ लाख रुपैयाँ क्षतिपूर्ति दिने
- BFIS News
- 2026 Jul 23 11:38
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) मा विद्युतीय दुर्घटनामा परी दुवै हात गुमाएका एक बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति तथा कुरुवा खर्चसमेत समेटेर उक्त रकम स्वीकृत गरेको हो। स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेनीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका बेला बालकले नजिकै रहेको ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएका कारण गम्भीर दुर्घटना भएको थियो। उक्त घटनामा बालकले दुवै हात गुमाएका थिए।
नेपाल विद्युत् प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपविनियम (१) बमोजिम विद्युत् दुर्घटनामा परेका व्यक्तिलाई क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउँदै आएको जनाएको छ। विनियमावलीअनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति र उपचार खर्च विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाखदेखि १० लाख रुपैयाँसम्म मुख्य प्रशासकीय अधिकृत र १० लाख रुपैयाँभन्दा बढीको क्षतिपूर्ति सञ्चालक समितिको निर्णयबाट स्वीकृत हुने व्यवस्था रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजिरका आधारमा पीडित बालकको परिवारलाई सहयोग गर्ने निर्णय गरिएको बताए। उनले कुनै पनि रकमले मानवीय पीडाको पूर्ण क्षतिपूर्ति हुन नसक्ने उल्लेख गर्दै यो सहयोगले पीडित परिवारको जीवनयापनमा केही राहत पुग्ने अपेक्षा गरिएको बताए।
मन्त्री श्रेष्ठले बीमा, उपचार र क्षतिपूर्तिको व्यवस्था आफ्नो ठाउँमा रहे पनि पछिल्ला वर्षहरूमा विद्युतीय दुर्घटनाका घटनाहरू बढ्दै गएको भन्दै त्यसको न्यूनीकरणमा विशेष ध्यान दिन आवश्यक रहेको बताए। उनले नेपाल विद्युत् प्राधिकरणलाई आफ्ना संरचनाको नियमित मर्मतसम्भार गर्न, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन, सुरक्षा सतर्कता कडा बनाउन तथा नागरिकमा जनचेतना र पूर्वसूचना सम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
उनले विद्युतीय दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायसँगै नागरिकको सचेतना पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै सुरक्षित विद्युत् प्रयोगसम्बन्धी व्यवहार अपनाउन सबैलाई आग्रह गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpeg)

प्रतिक्रिया