मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा ८.९८ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानीमा ५० प्रतिशतभन्दा बढी सुधार
- BFIS News
- 2026 Jul 23 18:54
काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (एमडीबी) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १४ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ करोड ९५ लाख रुपैयाँको तुलनामा ८.९८ प्रतिशतले बढी हो।
बैंकको नाफामा सुधार हुनुमा खुद ब्याज आम्दानीमा भएको उल्लेखनीय वृद्धि तथा कोषको लागत (कस्ट अफ फन्ड) घट्नु प्रमुख कारणका रूपमा देखिएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५०.२६ प्रतिशतले बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २० करोड ४५ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको निक्षेप संकलन ३६.०७ प्रतिशतले वृद्धि भई ८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी २९.२५ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकले कर्जा तथा सापटीतर्फ १ करोड ६० लाख रुपैयाँको रिभर्सल गरेको जनाएको छ, जसले पनि समग्र वित्तीय नतिजामा सकारात्मक योगदान पुर्याएको छ।
बैंकको सञ्चालन नाफा पनि सुधारिएको छ। सञ्चालन नाफा अघिल्लो वर्षको १८ करोड ५७ लाख रुपैयाँबाट बढेर २० करोड १७ लाख रुपैयाँ पुगेको छ। यद्यपि, सञ्चित मुनाफा घटेर १५ करोड ४८ लाख रुपैयाँ मा सीमित भएको छ। कुल जगेडा कोष भने ३७ करोड ८ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
पूँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) अघिल्लो वर्षको ३१.५४ प्रतिशतबाट घटेर २५.७५ प्रतिशत मा झरेको छ। यद्यपि, बैंकको निष्क्रिय कर्जा (एनपीएल) ०.२६ प्रतिशत को न्यून स्तरमा कायम रहेको छ। साथै, कोषको लागत ५.१२ प्रतिशतबाट घटेर ४.२२ प्रतिशत मा झरेपछि ब्याज खर्चमा राहत पुगेको देखिन्छ।
प्रति सेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ६५ पैसाबाट बढेर ११ रुपैयाँ ६० पैसा पुगेको छ। त्यसैगरी, प्रति सेयर नेटवर्थ १.२९ प्रतिशतले वृद्धि भई १४३ रुपैयाँ २० पैसा पुगेको छ।
चौथो त्रैमासको अन्त्यसम्म प्रतिकित्ता ५८२ रुपैयाँ बजार मूल्यका आधारमा बैंकको मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) ५०.१६ गुणा रहेको वित्तीय विवरणले देखाएको छ। बैंकले खुद ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि, निक्षेप तथा कर्जा विस्तार र घट्दो कोष लागतको लाभ उठाउँदै नाफा सुधार गर्न सफल भएको देखिए पनि पूँजी पर्याप्तता अनुपातमा आएको गिरावट भने आगामी दिनमा ध्यान दिनुपर्ने पक्षका रूपमा देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)









.jpeg)

प्रतिक्रिया