Nepal Life

विद्युत् निर्यातबाट नेपालले भित्र्यायो २९ अर्ब ३२ करोड, सुख्खा सिजनमा १० अर्ब ५५ करोडको आयात

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 23 12:42
विद्युत् निर्यातबाट नेपालले भित्र्यायो २९ अर्ब ३२ करोड, सुख्खा सिजनमा १० अर्ब ५५ करोडको आयात

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् निर्यातबाट हालसम्मकै उच्च २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण) ले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा विद्युत् व्यापारतर्फ १८ अर्ब ७६ करोड रुपैयाँ बराबरको खुद व्यापार बचत भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणाभन्दा बढी हो।

Nepal Life
NIMB

प्राधिकरणका अनुसार विद्युत् निर्यातबाट हुने आम्दानी ६७.९६ प्रतिशत ले बढेको छ भने आयातमा हुने खर्च १८.२९ प्रतिशत ले घटेको छ। यसका कारण विद्युत् व्यापारमा उल्लेखनीय सुधार देखिएको हो।

गत आर्थिक वर्षमा नेपालले भारत र बंगलादेशमा ३ अर्ब ८७ करोड युनिट (किलोवाट–घण्टा) विद्युत् निर्यात गरेको छ। यो परिमाण अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिएको २ अर्ब ३८ करोड युनिट को तुलनामा ६२.८९ प्रतिशत बढी हो।

नेपालले भारतको खुला विद्युत् बजार (आईईएक्स–डे अहेड मार्केट, आईईएक्स–रियल टाइम मार्केट र एनभीभीएन) तथा नेपाल–भारत–बंगलादेश त्रिपक्षीय विद्युत् व्यापार संयन्त्रमार्फत विद्युत् बिक्री गरेको हो। समीक्षा अवधिमा औसत प्रतियुनिट ७ रुपैयाँ ५६ पैसा दरमा विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ।

यता, विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले १ अर्ब १४ करोड युनिट विद्युत् आयात गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ६८ करोड युनिट को तुलनामा ३१.५७ प्रतिशत कम हो। यससँगै आयातमा भएको खर्च पनि १२ अर्ब ९२ करोड रुपैयाँबाट घटेर १० अर्ब ५५ करोड रुपैयाँ मा सीमित भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्वदेशी जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण पूर्वाधारको विस्तार तथा विद्युत् व्यापार व्यवस्थापनमा आएको सुधारका कारण विद्युत् व्यापार सन्तुलन उल्लेखनीय रूपमा सकारात्मक बनेको हो।

प्राधिकरणले पछिल्ला उपलब्धिले नेपाल दक्षिण एशियामा आत्मनिर्भर र नाफामूलक विद्युत् निर्यातकर्ता राष्ट्रका रूपमा स्थापित हुँदै गएको संकेत गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया