विदेशी मुद्रा ल्याउने–लैजाने सम्बन्धी नियम संशोधन, ५ हजार डलरसम्मको नोटका लागि भन्सार घोषणा नचाहिने
- BFIS News
- 2026 Jul 23 17:59
काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने तथा नेपालबाट बाहिर लैजाने सम्बन्धी प्रचलित व्यवस्थालाई पुनः स्पष्ट गर्दै नयाँ सूचना जारी गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले यसअघि प्रकाशित व्यवस्थालाई पुनः प्रकाशन गर्दै यात्रु, सर्वसाधारण तथा सरोकारवालालाई प्रचलित कानुनी व्यवस्था पालना गर्न आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र १२ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २९क. को व्यवस्थाअनुसार नगद विदेशी मुद्रा ओसारपसारसम्बन्धी नियम लागू रहेको छ। यसअघि २०७५ असार ३२ र २०७५ चैत २६ मा प्रकाशित सूचनालाई पुनः स्मरण गराउँदै राष्ट्र बैंकले सोही व्यवस्थालाई पुनः सार्वजनिक गरेको जनाएको छ।
प्रचलित व्यवस्थाअनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म बराबरको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा भित्र्याउन सक्नेछन्। भारतीय रुपैयाँको हकमा पनि अमेरिकी डलर ५ हजार बराबरसम्मको रकम तथा राष्ट्र बैंकले विनिमय दर प्रकाशित नगर्ने अन्य विदेशी मुद्राको हकमा पनि अमेरिकी डलर ५ हजार बराबरसम्मको रकम घोषणा नगरी ल्याउन पाइनेछ।
तर, अमेरिकी डलर ५ हजारभन्दा बढी बराबरको नगद विदेशी मुद्रा नेपाल भित्र्याउँदा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने राष्ट्र बैंकले स्पष्ट गरेको छ।
राष्ट्र बैंकले भारतीय मुद्रासम्बन्धी व्यवस्थाबारे पनि पुनः जानकारी गराएको छ। २०८२ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अघि चलनचल्तीमा रहेका भारतीय ५०० र १००० दरका नोटको कारोबार गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
यद्यपि, सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २०० र ५०० दरका नोट भने नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म प्रचलित व्यवस्थाअनुसार नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ।
यसका साथै नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यस्ता मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था पनि यथावत् रहेको भन्दै राष्ट्र बैंकले यसप्रति विशेष ध्यान दिन आग्रह गरेको छ।
राष्ट्र बैंकले यसै विषयमा २०८२ भदौ १० गते प्रकाशित सूचना भने खारेज गरिएको जानकारी दिँदै हाल सार्वजनिक गरिएको सूचना नै लागू हुने जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpeg)

प्रतिक्रिया