सिटिजन बैंकका सिइओ गणेशराज पोखरेलको समर्पण, नेतृत्व र नवप्रवर्तनका २० वर्ष : बैंकले गर्यो सम्मान
- BFIS News
- 2026 Jul 23 19:31
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले बैंकमा २० वर्षको गौरवपूर्ण सेवा पूरा गरेका छन्। यस अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेले पोखरेलको निष्ठा, समर्पण, नेतृत्वदायी भूमिका तथा बैंकको विकासमा पुर्याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै हार्दिक सम्मान तथा बधाई व्यक्त गरेका छन्।
पोखरेल बैंकको स्थापना कालदेखि नै, अर्थात् वि.सं. २०६३ साउन ३ गतेदेखि व्यवस्थापकीय जिम्मेवारीमा आबद्ध रहँदै आएका छन्। बैंक स्थापनादेखि नै उनले संस्थाको विकास, विस्तार तथा व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। वि.सं. २०७५ चैत १७ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका पोखरेलले आफ्नो दूरदर्शी नेतृत्व, अथक मेहनत र संस्थाप्रतिको समर्पणमार्फत बैंकलाई सम्मानजनक उचाइमा पुर्याउन महत्वपूर्ण योगदान दिएका छन्।
पोखरेललाई वि.सं. २०७५ चैत १८ गतेदेखि लागू हुने गरी पहिलो पटक चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो। पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका उनीले दोस्रो कार्यकाल पनि प्रभावकारी रूपमा नेतृत्व गरिरहेका छन्। उनको वर्तमान कार्यकाल वि.सं. २०८३ माघ १७ गतेसम्म रहनेछ। तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि उनले बैंकको नेतृत्व सम्हाल्दै संस्थालाई निरन्तर प्रगतितर्फ अघि बढाएका हुन्।
बैंकको स्थापना कालदेखि नै विभिन्न जिम्मेवारीमा कार्यरत पोखरेलले नेतृत्वदायी भूमिका निर्वाह गर्दै संस्थागत विकासमा निरन्तर योगदान दिएका छन्। वि.सं. २०६५ सालदेखि बैंकको दोस्रो वरियतामा रहेर कार्यसम्पादन गरेका उनले व्यवस्थापन, रणनीतिक योजना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका थिए।
बैंकिङ क्षेत्रमा अनुभवी तथा व्यावसायिक नेतृत्वका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। बैंकमा आबद्ध हुनुअघि पनि उनले विभिन्न संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै व्यवस्थापन क्षेत्रमा आफ्नो कार्यकुशलता प्रमाणित गरेका थिए। तीन दशकभन्दा लामो व्यवस्थापकीय अनुभव भएका पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी र दृढ इच्छाशक्ति भएका नेतृत्वकर्ताका रूपमा परिचित छन्।
सीईओ नियुक्त भएपछि पोखरेलले “भित्र सिस्टम र बाहिर इमेज” भन्ने कार्यदर्शनलाई आफ्नो नेतृत्वको मूल आधार बनाएका थिए। उनले संस्थागत सुशासन, नीति–नियमको पूर्ण पालना, सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि तथा सम्पूर्ण सरोकारवालाको हितलाई केन्द्रमा राखेर बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनले नेतृत्व सम्हालेसँगै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको संख्या घटाउने तथा वित्तीय संस्थाको पुँजीगत आधार सुदृढ बनाउने उद्देश्यले ‘बिग मर्जर’ नीति अघि सारेको थियो। धेरै बैंकहरू रणनीतिक अन्योलमा रहेका बेला पोखरेलले त्यसलाई अवसरका रूपमा उपयोग गर्दै बैंकको विस्तार अभियानलाई तीव्रता दिए।
यस क्रममा मधेश प्रदेशमा बलियो उपस्थिति रहेको सहयोगी विकास बैंक, लुम्बिनी प्रदेशको बुटवल–भैरहवा क्षेत्रमा स्थापित तिनाउ मिसन डेभलपमेन्ट बैंक तथा कोशी प्रदेशको औद्योगिक क्षेत्रमा प्रभावशाली आधार बनाएको सिर्जना फाइनान्स लिमिटेडलाई सफलतापूर्वक सिटिजन्स बैंकमा गाभिएको थियो। यी प्राप्ति र मर्जरका कारण बैंकको चुक्ता पुँजी, निक्षेप संकलन तथा कर्जा लगानी उल्लेखनीय रूपमा विस्तार भई ब्यालेन्स सिटको आकार झण्डै दोब्बरको हाराहारीमा पुगेको थियो। यसले सिटिजन्स बैंकलाई उद्योगको प्रमुख प्रतिस्पर्धी संस्थामध्ये एकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। यति मात्रै होइन उनले सिटिजन बैंकका संस्थापकहरुको अस्तित्व जोगाउन पनि महत्वपुर्ण भूमिका निर्वाह गरे। जसले गर्दा आज सबै संस्थापकले आफ्नो अस्तित्वलाई जिवित राख्न सफल भएका छन्।
पोखरेलको नेतृत्वमा बैंकले डिजिटल बैंकिङलाई पनि उच्च प्राथमिकतामा राख्यो। परम्परागत काउन्टर–केन्द्रित सेवा प्रणालीलाई रूपान्तरण गर्दै उनले बैंकलाई ‘डिजिटल–फर्स्ट’ मोडलतर्फ अग्रसर गराए। यसअन्तर्गत मोबाइल बैंकिङ प्रणालीलाई पूर्ण रूपमा परिमार्जन गरी ग्राहकले शाखामा उपस्थित नभई मोबाइलमार्फत मुद्दती खाता खोल्ने, अनलाइन केवाईसी विवरण अद्यावधिक गर्ने तथा बैंक स्टेटमेन्ट प्राप्त गर्ने सुविधा उपलब्ध गराइयो।
त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स र डेटा एनालिटिक्समा आधारित नेपालकै पहिलो डिजिटल, विना धितो तथा विना कागजी प्रक्रिया तत्काल कर्जा उपलब्ध गराउने ‘फोनलोन’ सेवा पनि पोखरेलकै कार्यकालमा सञ्चालनमा ल्याइयो। उक्त सेवाले नेपाली बैंकिङ क्षेत्रमा डिजिटल कर्जाको नयाँ अभ्यास स्थापित गरेको मानिन्छ।
यससँगै बैंकले देशभर क्यूआर कोडमा आधारित डिजिटल भुक्तानी प्रणालीको विस्तारलाई अभियानकै रूपमा अघि बढायो। साना सडक व्यवसायीदेखि खुद्रा पसल र ठूला सपिङ मलसम्म क्यूआर भुक्तानी प्रणाली विस्तार गरिएकाले नगदरहित कारोबारलाई प्रोत्साहन मिल्नुका साथै बैंकको न्यून लागतको निक्षेप वृद्धि गर्न समेत उल्लेखनीय सहयोग पुगेको बैंकको भनाइ छ।
दुई दशकको संस्थागत यात्रामा पोखरेलले व्यवस्थापकीय दक्षता, रणनीतिक सोच, प्रविधिमैत्री नेतृत्व तथा संस्थाप्रतिको समर्पणमार्फत सिटिजन्स बैंकलाई प्रतिस्पर्धी, आधुनिक र ग्राहकमुखी बैंकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। बैंकले उनको २० वर्षे योगदानलाई संस्थाको सफलताको महत्वपूर्ण आधारका रूपमा सम्मान गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpeg)

प्रतिक्रिया