Nepal Life

मध्यपूर्व तनावले विश्व ऊर्जा बजारमा दबाब, कच्चा तेलको मूल्य मेपछि पहिलोपटक १०० डलर नाघ्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 24 14:23
मध्यपूर्व तनावले विश्व ऊर्जा बजारमा दबाब, कच्चा तेलको मूल्य मेपछि पहिलोपटक १०० डलर नाघ्यो

काठमाडौं। मध्यपूर्वमा चुलिँदै गएको भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पुनः अस्थिरता देखिएको छ।

Nepal Life
NIMB

 

इरानसँग सम्बन्धित सैन्य गतिविधि तीव्र हुनु तथा लाल सागर क्षेत्रमा तेल आपूर्तिमा जोखिम बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मे महिनापछि पहिलो पटक प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’को मूल्य बिहीबार एकै दिन ६ प्रतिशतभन्दा बढीले बढेको हो। विश्लेषकहरूका अनुसार अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही तीव्र बनाएको र यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करमाथि आक्रमण गरेपछि प्रमुख आपूर्ति मार्गमा अवरोध आउने जोखिम बढेको छ। यसले विश्व ऊर्जा बजारमा आपूर्ति संकटको चिन्ता थप गहिरिएको छ।

यसअघि अमेरिका–इरानबीच भएको अस्थायी युद्धविरामपछि तेलको मूल्य केही घटेको थियो। तर युद्धविरामको प्रभाव समाप्त भएसँगै तनाव पुनः बढेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान सम्झौताका लागि तयार नभएको अभिव्यक्ति दिएपछि बजारमा अनिश्चितता अझ बढेको बताइएको छ। विशेषगरी विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्यमा अवरोध उत्पन्न हुन सक्ने आशंकाले लगानीकर्ता र ऊर्जा बजारलाई थप सतर्क बनाएको छ।

कच्चा तेलसँगै प्राकृतिक ग्यासको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। बेलायतमा जुन महिनामा प्रति थर्म ९८ पेन्स रहेको ग्यासको मूल्य हाल करिब १५० पेन्स पुगेको छ।

ऊर्जा मूल्यको यो वृद्धिले विश्वव्यापी मुद्रास्फीतिमा पुनः दबाब सिर्जना गर्ने संकेत देखिएको छ। हालैसम्म बेलायतमा मुद्रास्फीति २.६ प्रतिशत र अमेरिकामा ३.५ प्रतिशतमा झरेको भए पनि इन्धन महँगिएसँगै मूल्यवृद्धिको दबाब फेरि बढ्न सक्ने अर्थशास्त्रीहरूको अनुमान छ।

इन्धनको मूल्य बढ्दा ढुवानी खर्च वृद्धि हुने भएकाले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्ने अपेक्षा गरिएको छ। हाल बेलायतमा पेट्रोलको मूल्य प्रति लिटर १.५६ पाउण्ड र डिजेल १.७२ पाउण्ड पुगेको छ भने अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ अमेरिकी डलर नाघेको छ।

ऊर्जा बजारमा देखिएको पछिल्लो उतारचढावले केन्द्रीय बैंकहरूलाई पनि चुनौती थपिएको छ। लगानी व्यवस्थापन कम्पनी क्विल्टर चेभियोटका जोनाथन रेमन्डका अनुसार ऊर्जा मूल्य लगातार बढिरहे ब्याजदर घटाउने योजना प्रभावित हुन सक्छ र केन्द्रीय बैंकहरूलाई उच्च ब्याजदर कायम राख्न वा थप बढाउन दबाब पर्न सक्छ।

बेलायतको बैंक अफ इङ्गल्याण्डले हाल ब्याजदर ३.७५ प्रतिशतमा स्थिर राखेको छ। यस्तै, अमेरिकी फेडरल रिजर्भका अध्यक्ष केभिन वार्सले मूल्य स्थायित्वलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर घटाउन आग्रह गर्दै आएका भए पनि बढ्दो ऊर्जा मूल्यका कारण तत्काल ब्याजदर कटौतीको सम्भावना कमजोर देखिएको विश्लेषण गरिएको छ।

अर्थविश्लेषकहरूले मध्यपूर्वको द्वन्द्व लामो समयसम्म जारी रहेमा विश्व अर्थतन्त्रमा महँगीको नयाँ चाप सिर्जना हुनुका साथै आर्थिक वृद्धिदरमा समेत नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी दिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया