सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६ प्रतिशतले बढ्यो, खराब कर्जा ६.१५ प्रतिशतमा झर्यो
- BFIS News
- 2026 Jul 31 10:46
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य सुधार गरेको जनाएको छ। बैंकले समीक्षा अवधिमा खुद नाफा बढाउनुका साथै निष्क्रिय कर्जा घटाउन र पूँजी कोष अनुपात सुधार गर्न सफलता हासिल गरेको छ।
विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा बैंकको नाफा वार्षिक रूपमा ८६.१८ प्रतिशतले वृद्धि भएको हो।
यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको २३ करोड ४५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर २३ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ। तर सञ्चालन नाफा भने १० करोड ६८ लाख रुपैयाँबाट बढेर २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
बैंकले जोखिम व्यवस्थापनतर्फ पनि सुधार गरेको देखिएको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) अघिल्लो वर्षको १०.६५ प्रतिशतबाट घटेर ६.१५ प्रतिशतमा झरेको छ। त्यस्तै, पूँजी कोष अनुपात ८.२९ प्रतिशतबाट बढेर ११.२९ प्रतिशत पुगेको छ।
यद्यपि, बैंक अझै लाभांश वितरण गर्न सक्ने अवस्थामा भने पुगेको छैन। विगतका वर्षदेखि रहेको सञ्चित घाटाका कारण बैंकको सञ्चित कोष अझै ऋणात्मक अवस्थामा रहेको छ। अघिल्लो आर्थिक वर्ष ६२ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चित कोष समीक्षा अवधिमा घटेर ५५ करोड ८८ लाख रुपैयाँ ऋणात्मकमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ कायम रहेको छ भने जगेडा कोष बढेर ४४ करोड ८० लाख १० हजार ८४७ रुपैयाँ पुगेको छ।
व्यावसायिक विस्तारतर्फ पनि बैंकले प्रगति गरेको देखिन्छ। बैंकको कुल निक्षेप अघिल्लो आर्थिक वर्षको ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, ग्राहकलाई प्रवाह गरिएको कर्जा ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको कुल सम्पत्तिको आकार पनि विस्तार भएको छ। अघिल्लो आर्थिक वर्ष ८ अर्ब ५० करोड रुपैयाँ रहेको कुल सम्पत्ति समीक्षा अवधिमा बढेर १० अर्ब ११ करोड ३० लाख ५६ हजार ७४६ रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया