सानिमा बैंकको १४ वर्षमा मर्जर विना नै १३.२५ गुणाले बढ्यो सम्पत्ती, नाफादेखि हरेक सूचकमा उल्लेख्य वृद्धि
- BFIS News
- 2026 Jul 31 11:27
काठमाडौं । सानिमा बैंकले पछिल्लो १४ वर्षको अवधिमा आफ्नो व्यवसाय, सम्पत्ति, निक्षेप, कर्जा तथा नाफामा उल्लेख्य विस्तार गर्दै नेपालको प्रमुख वाणिज्य बैंकमध्ये आफुलाई मजबुद बैंकको रुपमा स्थापित गरेको छ। आर्थिक वर्ष २०६९/७० को चौथो त्रैमासदेखि २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय अवस्थाको विश्लेषणले बैंकले व्यवसायिक आकारमा निरन्तर वृद्धि कायम राखेको देखाएको छ।
यस अवधिमा नेपाल राष्ट्र बैंकको पूँजी बृद्धि योजना अनुसार विना मर्जर ८ अर्ब पुर्याउने केहि बैंक भित्र पर्दछ। यति मात्रै होइन नेपाल राष्ट्र बैंकले फोर्स मर्जरको नीति लिदा पनि आफूलाई सुरक्षित राख्न सफल सानिमा बैंकले हरेक सूचकमा आफुलाई अब्बल बनाएको छ। बैंकले यस अवधिमा शेयरधनीलाई बैंकिङ इन्ड्रष्ट्री भन्दा माथि लाभांश दिइरहेको छ भने प्रतिस्पर्धात्मक बजारमा प्रुडेन्ट बैंकिङ गरिरहेको छ। 
बैंकको कुल सम्पत्ति १४ वर्षमा १३.२५ गुणाले वृद्धि हुँदै २१ अर्ब ९७ करोड रुपैयाँबाट २ खर्ब ९१ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापटी पनि १५ अर्ब ९ करोड रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको मुख्य व्यवसाय निरन्तर विस्तार भएको संकेत गर्छ।

बैंकको कुल इक्विटी पनि निरन्तर बढ्दै २७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा चुक्ता पुँजी औसत वार्षिक १० प्रतिशत तथा जगेडा कोष २३.८५ प्रतिशतको दरले वृद्धि भएको विवरणमा उल्लेख छ।

निक्षेप संकलनतर्फ पनि बैंकले उल्लेख्य प्रगति गरेको छ। ग्राहक निक्षेप १७ अर्ब ७८ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। कुल दायित्वमध्ये निक्षेपको हिस्सा ९१ प्रतिशतबाट बढेर ९५ प्रतिशत पुगेको छ, जसले बैंक अझै पनि निक्षेपमा आधारित वित्तीय स्रोतमा निर्भर रहेको देखाउँछ।

आम्दानीतर्फ ब्याज आम्दानी पछिल्ला वर्षमा केही घटे पनि बैंकले खुद ब्याज आम्दानीमा भने वृद्धि कायम राख्न सफल भएको देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा उच्च विन्दुमा पुगेको ब्याज आम्दानी २०८२/८३ मा १६ अर्ब ६० करोड रुपैयाँमा झरेको भए पनि कर्जा विस्तारका कारण खुद ब्याज आम्दानी बढेको छ।

गैरब्याज आम्दानीतर्फ पनि बैंकले उल्लेख्य सुधार गरेको छ। सेवा शुल्क तथा कमिसन आम्दानी समीक्षा अवधिमा करिब ६४ गुणाले वृद्धि हुँदै १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
नाफातर्फ आर्थिक वर्ष २०८२/८३ बैंकका लागि सबैभन्दा सफल वर्ष बनेको छ। बैंकले यस अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन समीक्षा अवधिकै उच्च हो। समग्रमा बैंकको खुद नाफा औसत ३०.२७ प्रतिशतको दरले बढेको देखिन्छ।

प्रति सेयर आम्दानी (ईपीएस) पछिल्ला वर्षमा स्थिर रहेको विश्लेषणमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ईपीएस २४.९२ रुपैयाँ तथा वितरणयोग्य ईपीएस २०.८५ रुपैयाँ रहेको छ। यसले बैंकको लाभांश वितरण क्षमता सन्तोषजनक रहेको संकेत गर्छ।
प्रतिफल सूचकहरूमा पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा इक्विटी प्रतिफल (आरओई) १३.२३ प्रतिशत र सम्पत्तिमा प्रतिफल (आरओए) १.२२ प्रतिशत पुगेको छ। आरओए पछिल्लो पाँच वर्षकै उच्च स्तरमा पुगेको छ।

बजार मूल्याङ्कनतर्फ बैंकको मूल्य–आम्दानी (पी/ई) अनुपात पछिल्ला पाँच वर्षमा १२ देखि २० गुणाको दायरामा रहेको छ भने मूल्य–बुक (पी/बी) अनुपात २०८२/८३ मा १.८६ गुणा पुगेको छ। यसले बजारले बैंकलाई बुक भ्यालुभन्दा माथि मूल्याङ्कन गरिरहेको संकेत गर्छ।
यद्यपि, सम्पूर्ण सूचक सकारात्मक हुँदाहुँदै पनि निष्क्रिय कर्जा (एनपीएल) बढ्दै जानु बैंकका लागि चुनौतीको विषय बनेको छ। आर्थिक वर्ष २०७३/७४ मा ०.०१ प्रतिशत रहेको एनपीएल २०८२/८३ मा २.८७ प्रतिशत पुगेको छ। विश्लेषणले यसलाई कर्जाको गुणस्तरमा क्रमिक दबाब बढेको संकेतका रूपमा औँल्याएको छ। यद्यपी सानिमा बैंकको यो खराव कर्जा बैंकिङ इन्ड्रष्ट्रिकै सर्वाधिक कम मध्ये एक हो।

यसबीच, बैंकको लागत कोष (Cost of Funds) ८.२७ प्रतिशतबाट घटेर ३.५१ प्रतिशतमा झरेको छ भने आधारदर (Base Rate) पनि १०.१५ प्रतिशतबाट ४.९१ प्रतिशतमा आएको छ। ब्याज अन्तर (Interest Spread) ४ प्रतिशतबाट घटेर ३.३९ प्रतिशतमा सीमित हुँदा प्रतिस्पर्धा र नियामकीय व्यवस्थाका कारण नाफाको मार्जिनमा दबाब देखिएको छ।
लाभांश वितरण इतिहास हेर्दा बैंकले समीक्षा अवधिभर औसत १४.१५ प्रतिशत लाभांश वितरण गरेको छ। नाफामा उतारचढाव आए पनि बैंकले अधिकांश वर्षमा शेयरधनीलाई लाभांश दिन सफल भइरहेको छ।
(नोट: प्रस्तुत तथ्याङ्क शेयरसंसारबाट लिइएको हो।)
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया