Nepal Life

जुलाईमा नेप्से औसतभन्दा कमजोर; अगस्टको ऐतिहासिक प्रवृत्ति भने दबाबतर्फ : बैंकिङ विज्ञ परशुराम कुँवर

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 31 18:32
जुलाईमा नेप्से औसतभन्दा कमजोर; अगस्टको ऐतिहासिक प्रवृत्ति भने दबाबतर्फ : बैंकिङ विज्ञ परशुराम कुँवर

काठमाडौं, साउन १६ — बैंकिङ विज्ञ तथा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको “बैंक, वित्तीय तथा बीमा समिति” का सदस्य परशुराम कुँवरले नेप्सेको दीर्घकालीन मौसमी (Seasonality) प्रवृत्तिले जुलाई महिना सामान्यतया सकारात्मक रहने देखिए पनि यस वर्षको वृद्धि विगतको औसतभन्दा कमजोर रहेको बताएका छन्। उनका अनुसार यो साता नेप्से लगातार चार कारोबार दिनमा कुल ६२.०२ अंकले घटेपछि साताको अन्तिम कारोबार दिन १२.९६ अंक (०.४८ प्रतिशत) ले सुधार भएको छ।

Nepal Life
NIMB

जुलाई महिनाको अन्त्यसँगै सार्वजनिक गरिएको तथ्यांकअनुसार यस महिनामा कुल २३ कारोबार दिनमध्ये १२ दिन बजार बढ्दा ११ दिन घटेको थियो। समग्रमा नेप्से जुलाई महिनामा ७७.२१ अंक अर्थात् २.९६ प्रतिशतले वृद्धि भएको छ।

कुँवरले विगत २९ वर्षको तथ्यांक विश्लेषण गर्दै यस वर्षसहित २२ पटक जुलाई महिनामा नेप्से सकारात्मक रहेको उल्लेख गरेका छन्। तर, यस वर्षको २.९६ प्रतिशतको वृद्धि विगत २२ सकारात्मक जुलाई महिनाको औसत ८.६४ प्रतिशत वृद्धिभन्दा निकै कम रहेको उनको विश्लेषण छ।

उनका अनुसार यस वर्षको जुलाई वृद्धि विगतका सकारात्मक जुलाईमध्ये चौथो सबैभन्दा कम वृद्धि हो। यसअघि २००६ मा ०.९६ प्रतिशत, २०१० मा १.२९ प्रतिशत र २०१९ मा १.६६ प्रतिशत मात्र वृद्धि भएको थियो।

अगस्ट महिनाको सम्भावित बजार प्रवृत्तिबारे चर्चा गर्दै कुँवरले ऐतिहासिक तथ्यांकले मिश्रित संकेत दिएको बताए। विगत २९ वर्षमा १६ पटक अगस्ट महिनामा नेप्से घटेको छ भने १३ पटक मात्र बढेको छ। अझ पछिल्ला १० वर्ष (२०१६–२०२५) को तथ्यांक हेर्दा २०२० बाहेक सबै वर्ष अगस्टमा बजार घटेको देखिएको उनले उल्लेख गरेका छन्।

उनले मौसमी प्रवृत्तिले केही संकेत गरे पनि लगानी निर्णय गर्दा केवल ऐतिहासिक तथ्यांकमा निर्भर नहुन आग्रह गरेका छन्। उनका अनुसार मौद्रिक नीति, ब्याजदर, तरलता, सूचीकृत कम्पनीहरूको वित्तीय नतिजा, नियामकीय निर्णय तथा लगानीकर्ताको मनोविज्ञानजस्ता वर्तमान आधारभूत पक्षले बजारको वास्तविक दिशा निर्धारण गर्ने भएकाले समग्र आर्थिक र नीतिगत अवस्थाको विश्लेषण गरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ।

बैंकिङ विज्ञ कुँवर नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको “बैंक, वित्तीय तथा बीमा समिति” का सदस्यसमेत हुन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया