आईजीआई प्रुडेन्सियलको खर्च बढ्दा नाफामा पर्यो दवाव, व्यवसाय बढे पनि बैंक व्याजदर घट्दा आम्दानी प्रभावित
- BFIS News
- 2026 Aug 15 20:49
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको व्यवसायिक गतिविधिका केही सूचकमा सुधार देखिए पनि नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) भने उल्लेख्य रूपमा घटेको छ।
कम्पनीले समीक्षा अवधिमा ४० लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३६ करोड ४९ लाख ७४ हजार रुपैयाँ थियो। यसअनुसार कम्पनीको नाफा ९८.८९ प्रतिशतले घटेको हो।
कम्पनीको नाफामा आएको ठूलो गिरावटको मुख्य कारण खर्च र दाबीसम्बन्धी भार बढ्नु देखिन्छ। २०८२ साल भदौमा भएको आन्दोलन तथा त्यसपछिका बाढीपहिरोलगायतका घटनाका कारण बीमा दाबी बढ्दा कम्पनीको वित्तीय परिणाम प्रभावित भएको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३६.१८ प्रतिशतले बढेर २ अर्ब २३ करोड ९९ लाख २४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल खर्च १ अर्ब ६४ करोड ४७ लाख ९९ हजार रुपैयाँ थियो।
त्यस्तै, कम्पनीको कुल आम्दानी ३.६५ प्रतिशतले बढेर २ अर्ब २५ करोड ११ लाख ५७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल आम्दानी २ अर्ब १७ करोड १९ लाख १७ हजार रुपैयाँ थियो।
खुद बीमाशुल्कमा सुधार
कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३६ करोड २१ लाख ४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा ६.६८ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ४५ करोड ३० लाख ८९ हजार रुपैयाँ पुर्याएको छ।
त्यस्तै, कम्पनीले समीक्षा अवधिमा २ लाख ३७ हजार ७०८ वटा बीमा पोलिसी जारी गरेको छ। अघिल्लो वर्ष यस्तो संख्या २ लाख २२ हजार १६२ थियो।
यता, कम्पनीले लगानीबाट प्राप्त गर्ने आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लगानीबाट १८ करोड ४४ लाख ७४ हजार रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको २५ करोड ४९ लाख ६६ हजार रुपैयाँको तुलनामा २७.६५ प्रतिशत कम हो।
बीमा कोष ८३ प्रतिशतले बढ्यो
कम्पनीको बीमा कोषको आकार भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ४ अर्ब २५ करोड ९७ लाख ४ हजार रुपैयाँ रहेको बीमा कोष समीक्षा अवधिमा ८३.१६ प्रतिशतले बढेर ७ अर्ब ८० करोड २२ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता शेयर पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको छ। त्यस्तै, विपद् जोखिम व्यवस्थापनका लागि रहेको क्याटास्ट्रोफी रिजर्भ ९७ करोड ७८ लाख ७७ हजार रुपैयाँ पुगेको छ।
कम्पनीले समीक्षा अवधिमा २२ करोड ४२ लाख ९५ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यस्तो दाबी भुक्तानी २४ करोड ६३ लाख २५ हजार रुपैयाँ थियो। अर्थात् कुल दाबी भुक्तानी रकम ८.९४ प्रतिशतले घटेको देखिन्छ।
नाफामा आएको तीव्र गिरावटको प्रत्यक्ष असर कम्पनीको प्रतिशेयर आम्दानीमा परेको छ। अघिल्लो आर्थिक वर्ष १२.०५ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा घटेर ०.१३ रुपैयाँ मा सीमित भएको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १७९.५३ रुपैयाँ रहेको छ।
समग्रमा, आईजीआई प्रुडेन्सियलको बीमा व्यवसाय र बीमाशुल्क आर्जनमा वृद्धि भए पनि कुल खर्चमा भएको उच्च वृद्धि, लगानी आम्दानीमा आएको कमी तथा दाबीसम्बन्धी भारले कम्पनीको नाफामा ठूलो दबाब परेको वित्तीय विवरणले देखाएको छ। बीमा कोष र पोलिसी संख्यामा भएको वृद्धि भने कम्पनीको दीर्घकालीन व्यवसाय विस्तारका दृष्टिले सकारात्मक देखिन्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpg)



प्रतिक्रिया