नेपाल ल्युब आयलको २१.०५ प्रतिशत लाभांश घोषणा, अजोस १५ गते साधारणसभा
- BFIS News
- 2026 Sep 14 09:02
काठमाडौं। नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको ३५१औँ बैठकले प्रस्ताव गरे २१.०५२६४ प्रतिशत लाभांश वार्षिक साधारण सभामा पेस गर्ने भएको छ।
कम्पनीले आगामी असोज १५ गते सोमबार बिहान ११ः३० बजे ललितपुरको पुल्चोकस्थित द प्लाजाको कपर फ्लोरमा ३५औँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८३ असार मसान्तको वासलात, आय विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ। साथै, सहायक कम्पनीहरू NLOL Energy Ltd र NLOL Synergy Ltd समेत समेटिएको एकीकृत वित्तीय विवरण अनुमोदनका लागि प्रस्तुत गरिनेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकमा पी. प्रमास एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। लेखापरीक्षकको पारिश्रमिक ३ लाख रुपैयाँ प्रस्ताव गरिएको छ। कम्पनीका अनुसार उक्त पदका लागि तीनवटा प्रस्ताव प्राप्त भएका थिए।
सभाले गत असार २५ गते बसेका ३८५औँ तथा ३५०औँ सञ्चालक समिति बैठकका निर्णयअनुसार गरिएको सञ्चालक समितिको पुनर्गठनलाई समेत अनुमोदन गर्नेछ। अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कार्यकारी सञ्चालकको पारिश्रमिक तथा सुविधालाई उनीहरूले यसअघि सम्हालेको पदमा प्राप्त गर्दै आएको पारिश्रमिक तथा सुविधाभन्दा कम नहुने गरी कायम गर्ने निर्णय पनि अनुमोदनका लागि प्रस्तुत हुनेछ।
सल्लाहकार नियुक्तिको प्रस्ताव
कम्पनीले आवश्यकताअनुसार विशेषज्ञ राय तथा परामर्श लिन एक वा एकभन्दा बढी व्यक्तिलाई सल्लाहकार नियुक्त गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि अघि सारेको छ। कम्पनीको सञ्चालन, व्यवसायिक विकास, वित्तीय, प्राविधिक, वाणिज्यिक, कानुनी तथा अन्य विशेष विषयमा सल्लाहकारको सेवा लिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
सल्लाहकारको नियुक्ति, कार्यक्षेत्र, कार्यकाल, पारिश्रमिक तथा पदमुक्ति सञ्चालक समितिको निर्णयअनुसार हुने र सल्लाहकारलाई सञ्चालक समितिको बैठकमा मतदान गर्ने अधिकार नहुने प्रस्तावमा उल्लेख छ। यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
१५ प्रतिशत बोनसपछि हकप्रद निष्कासनको बाटो
विशेष प्रस्तावअन्तर्गत कम्पनीले १५ प्रतिशत बोनस सेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ। प्रस्तावित नगद लाभांश ५२ लाख ५२ हजार १३८ रुपैयाँ ८३ पैसा रहेको छ। लाभांश कर प्रयोजनका लागि आवश्यक कट्टीपछि नगद लाभांश वितरण गरिनेछ।
कम्पनीले यसअघि धितोपत्र बोर्डमा पेस गरेको १ः२ अनुपातको हकप्रद सेयर निष्कासनसम्बन्धी निवेदनमा उल्लेख भएको १४ लाख ५७ हजार २५३.६० कित्ता सेयर संख्यामा हकप्रद निष्कासन लागू हुने प्रस्ताव गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का ३४औँ तथा ३५औँ वार्षिक साधारण सभाबाट स्वीकृत तथा वितरण भएका थप बोनस सेयरलाई समेत सोही १४ लाख ५७ हजार २५३.६० कित्ताको सीमाभित्र राखी दामासाही आधारमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ।
यसअघि २०८१ माघ २५ गतेको विशेष साधारण सभाबाट सर्वसम्मत रूपमा स्वीकृत १ः२ अनुपातको हकप्रद सेयर निष्कासन हाल नेपाल धितोपत्र बोर्डको स्वीकृतिको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। हकप्रदबाट प्राप्त हुने थप पुँजीलाई कम्पनीको व्यवसायमा उपयोग गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ।
बोनस सेयर र हकप्रद सेयरबाट पुँजी वृद्धि गर्ने प्रस्ताव स्वीकृत भएपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि अघि सारिएको छ।
साथै, पुँजी वृद्धि तथा अन्य निर्णय कार्यान्वयनका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेडलगायत सम्बन्धित निकायमा आवश्यक प्रक्रिया अघि बढाउने अधिकार कम्पनी सचिव सुवास आचार्यलाई प्रदान गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरिएको छ।
असोज ५ देखि सेयर दाखिल खारेज बन्द
साधारण सभा प्रयोजनका लागि कम्पनीको सेयर दाखिल खारेजसम्बन्धी काम असोज ५ गतेदेखि असोज १५ गतेसम्म बन्द रहनेछ।सभामा सहभागी हुन प्रतिनिधि नियुक्त गर्ने सेयरधनीले प्रोक्सीपत्र सभा सुरु हुनुभन्दा कम्तीमा ७२ घण्टा अगाडि कम्पनीको कर्पोरेट कार्यालय, साकेत भवन, त्रिपुरेश्वरमा दर्ता गरिसक्नुपर्नेछ। सेयरधनीको नाम, सेयर संख्या र दस्तखत नमिलेको प्रोक्सीपत्र मान्य नहुने कम्पनीले जनाएको छ।
पर्याप्त गणपूरक संख्या पुगेमा मात्र साधारण सभा सञ्चालन हुनेछ। सभाको सूचना तथा आर्थिक विवरण सेयरधनीको दर्ता किताबमा कायम ठेगानामा पठाइनेछ। कम्पनीले साधारण सभासम्बन्धी थप जानकारी आवश्यक परेमा कार्यालय समयमा त्रिपुरेश्वरस्थित कर्पोरेट कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया