नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
- BFIS News
- 2026 Oct 15 10:24
काठमाडौं। बडादशैंअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैं घर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन दुर्गा देवीका नौ स्वरूपको विशेष पूजा आराधना गर्छन्। नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
यस वर्ष नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैं घर तथा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डाको पूजा आराधना गरिएको थियो। आज पाँचौँ दिन स्कन्दमाताको पूजा गरिँदै छ।
दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। देवीका यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। शक्तिपीठमा गई देवीको पूजा, आराधना र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुनुका साथै पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि दशैं घरमा राखिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ। यसरी नेपाली समाजमा बडादशैंको उत्सव १५ दिनसम्म मनाइन्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया