नेपालमा नौ अर्ब रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रियो
- BFIS News
- 2025 May 14 22:12
काठमाडौँ, वैशाख ३० गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा नेपालमा झण्डै नौ अर्ब रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म आठ अर्ब ९६ करोड रूपैयाँ बराबरको लगानी भित्रिएको हो।
गत वर्ष सो अवधिमा छ अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो । गत आवको तुलनामा साढे दुई अर्ब बढी लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ । गत फागुनसम्म आठ अर्ब ४९ करोड रुपियाँ विदेशी लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । चैतमा मात्र ४७ करोड रुपियाँ बराबरको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ । यस्तै नौ महिनामा खुद पुँजीगत ट्रान्सफर सात अर्ब ७१ करोड रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा चार अर्ब ७८ करोड पुँजीगत ट्रान्सफर भएको थियो ।
सरकारले नीतिगत सुधार गरेसँगै मुलुकमा भित्रिने वैदेशिक लगानीमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । सरकारले केही समयअगाडि वैदेशिक लगानी भित्र्याउन अध्यादेशमार्फत कानुन संशोधन गरेको थियो । जसको कारण वैदेशिक लगानीमा सुधार देखिएको छ । उद्योग विभागका अनुसार पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको छ ।
सबैभन्दा धेरै लगानी चीन, भारत, जापान, अमेरिका, बङ्गलादेशलगायतका मुलुकबाट लगानी प्रतिबद्धता आउने गरेको छ । नौ महिनामा ४२७ वटा परियोजनामार्फत ५७ अर्ब ९५ करोड लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार ८७८ परियोजनामार्फत पाँच खर्ब ६६ अर्ब ७० करोड ३७ लाख ४३ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । लगानी प्रतिबद्धता धेरै आए पनि नेपालमा भित्रिने लगानी भने न्यून रहेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)

.png)





प्रतिक्रिया