NIMB Header 2
Nepal Life

शेयरधितो कर्जा सीमा खारेजलाई लगानीकर्ताले गरे स्वागत, गभर्नर पौडेलको नेतृत्वको प्रशंसा

Citizen Life
  • BFIS News
  • 2025 Oct 09 13:10
शेयरधितो कर्जा सीमा खारेजलाई लगानीकर्ताले गरे स्वागत, गभर्नर पौडेलको नेतृत्वको प्रशंसा
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जाको सीमा पूर्ण रूपमा खारेज गरेपछि पूँजी बजारमा उत्साह छाएको छ। यो निर्णय लगानीकर्ताको लामो समयदेखिको माग थियो, जुन अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको “शेयर बजार सुधार कार्यदल” को सिफारिस र लगानीकर्तासँग गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको लगातारको संवादपछि कार्यान्वयनमा आएको हो।

NIMB

राष्ट्र बैंकको यस निर्णयलाई लगानीकर्ताले ऐतिहासिक र पूँजी बजारमैत्री कदमका रूपमा स्वागत गरेका छन्। गभर्नर पौडेलले आफ्नो कार्यकालमा पूँजी बजारलाई स्थायित्व र गति दिन सकिने सबै सम्भावित नीतिगत सुधारहरू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए।

राष्ट्र बैंकले पूँजी बजारका लागि ऐतिहासिक निर्णय गरेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए। तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले २०७८ साल भदौ ८ गते मौद्रिक नीति मार्फत भएको प्रहारलाई गभर्नर महाप्रसाद अधिकारीले हटाइदिएको भन्दै लगानीकर्ताहरुले स्वागत गरेको उनले उल्लेख गरे।

लगानीकर्तासँग निरन्तर संवाद र ‘सुनुवाइमा गभर्नर’

गभर्नर पौडेलको कार्यशैली लगानीकर्तामाझ निकै प्रशंसनीय रहँदै आएको छ। भेटघाटमा उनले सधैं लगानीकर्ताको कुरा पहिला ध्यानपूर्वक सुन्ने र त्यसपछि मात्र आफ्नो धारणा राख्ने गरेका छन्। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार, “गभर्नरले सुरुमा पाँच मिनेट भेट दिन्छु भन्नुभएको थियो, तर छलफल गुणस्तरीय हुँदै जाँदा ४५ मिनेटजति समय दिनुभयो, जुन उहाँको गम्भीरता र लगाव दर्शाउँछ।”

नेपाल इन्भेष्टर फोरम र अन्य लगानीकर्ता संगठनहरूले पनि गभर्नरलाई भेट्दै शेयरधितो कर्जाको सीमा हटाउनुपर्ने माग राखेका थिए। शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्, “पढेलेखेको र बुझेको गभर्नर हुनुले धेरै फरक पर्दो रहेछ। उहाँ अरुको कुरा सुनेर त्यसलाई आत्मसात गर्ने व्यक्ति हुनुहुन्छ।”

अर्थमन्त्री र गभर्नरबीच सहमति : पूँजी बजार अर्थतन्त्रको इन्जिन

अर्थमन्त्री खनालले जेनजी आन्दोलनपछि शेयर बजारमा देखिएको गिरावट र लगानीकर्ताको असन्तुष्टि सम्बोधन गर्न कार्यदल गठन गरेका थिए। कार्यदलले अर्थमन्त्रालय र राष्ट्र बैंकलाई सिफारिस गर्दै शेयरधितो कर्जाको सीमा हटाउन सुझाव दिएको थियो।

बैंकिङ प्रणालीमा अत्यधिक तरलता र अर्थतन्त्रमा चलायमानता ल्याउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै अर्थमन्त्री र गभर्नर दुबै पूँजी बजारलाई ‘अर्थतन्त्र चलाउने प्रमुख औजार’का रूपमा हेर्ने मनस्थितिमा पुगेका थिए।

गभर्नरको व्यक्तिगत दृढता र लगनशीलता

जेनजी आन्दोलनको क्रममा गभर्नर पौडेलका दुई घर जलेका थिए। तर, दोस्रो दिनमै उनले राष्ट्र बैंकमा उपस्थित भएर कार्यभार सम्हालेका थिए। लगानीकर्ताले यो समर्पणलाई “देशप्रति प्रतिबद्धता र संस्थाप्रति जिम्मेवारीको उत्कृष्ट उदाहरण” का रूपमा लिएका छन्।

लगानीकर्ताको सामूहिक अभियान र सफल परिणाम

नेपाल इन्भेष्टर फोरम, नेपाल शेयरधनी संघ, साधारण लगानीकर्ता संघ, जनरल इन्भेष्टर एसोसिएसन लगायतका संघ–संगठनले राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेलाई निरन्तर सुझाव र दबाब दिँदै आएका थिए।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार, “२०७८ साल भदौ ८ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत लगानीकर्तामाथि गरेको प्रहार अहिले गभर्नर पौडेलले सुधार गरेर हटाइदिनु भएको छ। यो लगानीकर्ताको जित हो।”

ढकालले अर्थमन्त्री, कार्यदल र राष्ट्र बैंक तीनै पक्षले पूँजी बजारप्रतिको बुझाइ प्रदर्शन गरेको भन्दै धन्यवाद दिएका छन्। उनका अनुसार, “हालको अर्थतन्त्र, बैंकिङ तरलता र बजारको अवस्था हेर्दा यस निर्णयले पूँजी बजारलाई नयाँ दिशा दिनेछ।”

धितोपत्र बोर्डमाथि आलोचना र सुधारको अपेक्षा

लगानीकर्ताले नेपाल राष्ट्र बैंकको सक्रियतामा प्रसन्नता जनाए पनि नेपाल धितोपत्र बोर्डको कार्यसम्पादनप्रति असन्तोष व्यक्त गरेका छन्। बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको अनुभव र कार्यकुशलता कमजोर रहेको भन्दै लगानीकर्ताले उनलाई आफ्नो कार्यशैलीलाई सुधार गर्न अनुरोध गरेका छन्।

बजारमा सकारात्मक संकेत

राष्ट्र बैंकको सर्कुलरले बैंक तथा वित्तीय संस्थालाई शेयर बिक्री गर्ने समयावधि एक वर्षबाट घटाएर छ महिनामा झारिदिएको गरेको छ, जसले बजारमा “डिमाण्ड क्रिएसन” को वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

लगानीकर्ताहरूको भनाइमा, “गभर्नरलाई हामीले बुझायौं पनि, उहाँ आफैं बुझ्नुभएको पनि हो। उहाँमा रियलाइजेसन थियो। पूँजी बजार सुधार अर्थतन्त्र सुधारको लागि अपरिहार्य शर्त पनि हो।”

यस उपलब्धीमा नेपाल इन्भेष्टरफोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, शेयर लगानीकर्ता संघका कार्यवहाक अध्यक्ष ताराप्रसाद फुल्लेल, जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दिपक कार्की, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतजंग जिसी, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे, नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेल, वरिष्ठ लगानीकर्ता छोंटेलाल रौनियार, नेपाल पूँजी बजार लगानीकर्ता संघका महासचिव एस.पी.चौलागाई, तथा स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन) लागायतका लगानीकर्ताहरुले पूँजी बजारका विषयमा निरन्तर रुपमा नियामक निकायहरुलाई खवरदारी गर्दै आइरहेका छन्।

सुधारको नयाँ अध्याय

शेयरधितो कर्जा सीमा हटाउने निर्णयले नेपाली पूँजी बजारमा नयाँ आशा जगाएको छ। गभर्नर पौडेलको नीतिगत सक्रियता, अर्थमन्त्री खनालको नेतृत्व र लगानीकर्ताको निरन्तर खवरदारी यी तीन पक्षको संयोजनले बजार सुधारको नयाँ अध्याय सुरु गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया